१७ कार्तिक
काठमाडौं। सर्वाेच्च अदालतले माफी दिने सरकारको निर्णय बदर गरेसँगै रिगल भनिने योगप्रसाद ढकाल पक्राउ परेका छन् । बिहीबार सर्वाेच्च अदालतले उनको कैद माफी दिने सरकारको निर्णय बदर गर्दै तत्काल पक्राउ गर्न परमादेश दिएको थियो । उक्त निर्णय र आदेशलगत्तै उनी बाँकेबाट पक्राउ परेका हुन् ।
०७२ साल असार २८ गते नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर चेतन मानन्धरको हत्या भएको थियो। उक्त हत्याको अभियोग रिगलमाथि थियो।
उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर, संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरेपछि रिगल जिल्ला कारागार, दाङबाट छुटेका थिए ।
सरकारबाट माफी पाएर कैद मुक्त भएपछि मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
उक्त रिटमा बिहीबार सुनुवाइ गर्दै कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपनाप्रधान मल्ल र कुमार चुडालको इजलासले सरकारको निर्णय बदर गर्दै रिगललाई तत्काल पक्राउ गर्न परमादेश दिएको हो ।
अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको छ ।









