२७ असोज
काठमाडौँ । सत्तारुढ गठबन्धनको निर्णयविपरीत कोशी प्रदेशमा नेकपा एमालेको सहयोगमा सरकार बनाउन पुगेका नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले लिखित सहमति भएको छ ।

उता कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेस गरेका थिए । यद्यपि अन्तिम समयमा उनले आफ्नो दाबी कमजोर रहेको र शीर्ष नेताबिच छलफल जारी रहेको हुँदा सनाखत तत्काल नगराउने बताएका थिए ।









