९ असार
पोखराको हेम्जाको फराकिलाे र सुन्दर सडक ‘भाइरल रोड’ का नाममा चर्चित छ । हेम्जाबासी जति राम्रो र फराकिलो सडक बन्दा खुशी छन्, त्यति नै असुरक्षित महसुस गरेका छन् । हेम्जामा बर्षेनी एकपछि अर्काे दुर्घटना भइरहेकाे छ ।
गत मंगलबार पोखरा २५ हेम्जास्थित म्याग्दीचोक, चाक्लेकुलामा ठूलो दुर्घटना हुँदा स्कूले बालिकाको ज्यान गयो । आफन्तसँग यहाँ बस्दै आएकी ९ वर्षिया बालिका रेखा लाम्गादेले अनाहकमा कलिलै उमेरमा ज्यान गुमाइन् ।
बाटोपारी दिव्यज्योति स्कुल छ । त्यहाँ कक्षा १ मा पढ्ने उनी ९ बजेर २० मिनेटमा रोड क्रस गरिन् । जेब्राक्रसबाटै ट्याक्सीले उनलाई ४० मिटर टाढा पुर्यायो । टाउकाे फुट्याे । शरीर थिलाेथिलाे भयाे । तत्काल अस्पताल लगिएकाेमा चिकित्सकले मृत घाेषणा गरे ।
उनी दुई कारणले दुर्घटनामा परिन् । पहिलो, जेब्राक्रसबाट हेर्दा आउँदै गरेको गाडी छेकिने गरी ट्रक पार्किङ गरिएको छ । त्यसले गर्दा गाडी आएको बालिकाले देखिनन् । दोस्रो, विद्यालय क्षेत्रमा गति सीमित (२० किमि प्रतिघण्टा) हुनुपर्नेमा १०० किमि प्रतिघण्टा जस्ताे ट्याक्सी हुइँकिएको सीसीटिभी फुटेजमा प्रस्ट देखिन्छ । मूख्य गल्ती ट्याक्सी चालककै छ । प्रत्यक्षदर्शी स्थानियले पनि यही भनेका छन् ।
ठक्कर दिने ध १ ज ९५२ नम्बरको ट्याक्सी यति तीब्र गतिमा हुँइकिएको छ कि, बालिकालाई ठक्कर दिएर बच्चा हावामा उडेको देखिन्छ । त्यसपछि, अघिल्लो भाग हुँदै सीसामा ठोक्किएर भुईमा खसी १३० फिट परसम्म बच्चालाई लतारेको छ । कास्की ट्राफिकका अनुसार बच्चा ठक्कर दिएपछि ट्याक्सी २६० फिटमा पुगेर मात्र रोकिएको छ । अर्थात्, उक्त ट्याक्सीको अत्यधिक छ । स्थानीयहरूले हन्ड्रेड ओभर स्पीड थियाे भन्छन् ।
बालिकाको ज्यान जानुमा जेब्राक्रस नै छेकिने गरी पार्किङ गर्ने ट्रकको पनि उत्तिकै दोष छ । बालिकाले ट्याक्सी आएकाे देखिनन् भने ट्याक्सी चालकले पनि बालिकाले क्रस गर्दै गरेकाे देखेनन्। जेब्राक्रस कटेपछि पार्क गरिएकाे खण्डमा आफ्नै साइड भएकाले ट्रककाे दाेष रहन्थेन तर जेब्राक्रसबाट हिँड्ने पैदलयात्रीले गाडी आएकाे नदेख्ने गरी पार्क गरिएकाले याे ट्रक पनि उत्तिकै दाेषी छ । प्रायः सडकमा दुर्घटना अगाडि गाडि आएको नदेख्ने र सिधै बाटो काट्दा ठक्कर दिएपछि हुने गरेको छ ।
दुर्घटनामा संलग्न ट्याक्सी चालक र ट्रक चालकलाई समेत कारबाही गर्नुपर्ने माग स्थानीयको छ । र, उचित क्षतिपूर्तिको माग पनि गरेका छन् । मृतक बालिकाका बाबुको पहिल्यै मृत्यु भइसकेको छ भने आमा मुस्ताङमा बस्दै आएकी छिन् ।









