२० वैशाख
पर्वत । पर्वतको विहादी गाउँपालिकामा न्यायिक समितिका लागि ४८ घण्टे आधारभूत तालिम सञ्चालन गरिएको छ । विहादी गाउँपालिकाका ६ वटै वडाका वडाअध्यक्ष, ६ वटै वडाका न्यायिक समितिका पदाधिकारी कार्यक्रममा सहभागी हुनुभएको छ । तालिम मंगलबारदेखि शुरु भइ बैशाख २६ गते समापन हुनेछ । तालिमको उद्घाटन गर्दै विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले न्यायिक समिति लाई प्रभावकारी बनाएर नागरिकको सेवा लाग्न सुझाव दिनुभयो । उहाँले न्यायिक समितिले पक्ष र विपक्षीलाई हिनताबोध नभै जितजितको महसुस हुने गरि न्यायिक निरुपण गर्न आग्रह गर्नुभयो ।
अध्यक्ष गुरुङले आधारभूत प्रशिक्षणले न्यायिक समितिलाई न्याय निरुपणको क्रममा देखिएका समस्या समाधानमा सहयोगी बन्ने उल्लेख गर्नुभएको थियो । उक्त कार्यक्रमको अध्यक्ष गुरुङले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो न्यायिक समितिका संयोजक एवं विहादी गाउँपालिकाका उपाध्यक्ष मीना शर्मा तिवारीले यो तालिमले कानुनी तथा नीतिगत कुराहरु र समाजमा मलेमिलाप गराउन अपनाउनुपर्ने सजगता बारेमा जानकारी प्राप्त हुने बताउनुभयो । मेलमिलाप सम्बन्धि तालिम मानव अधिकार तथा सामूदायिक विकास प्रतिष्ठान नेपाल राजविराज सप्तरीका प्रशिक्षक अर्जुन घिमिरे र कला विष्टले सञ्चालन गर्नुहुनेछ । तालिम उद्घाटन कार्यक्रमको स्वागत निमित्त प्रमुख प्रसासकीय अधिकृत हरि भुसालले गर्नुभएको थियो ।









