३ चैत्र

काठमाडौँ।  मुलुकको उपराष्ट्रपति पदको निर्वाचनका  लागि आज मतदान हुँदैछ । उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झा गरी तीन उम्मेदवार छन् । निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् । जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको घोाषणा गरेकी छन् । तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनकोसमेत नाम छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने मतदानमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ ।

उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाई मतसङ्केत गर्नुपर्नेछ ।

सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ कायम रहेको छ । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन् । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिइन् ।

राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ । उपराष्ट्रपति मर्यादाका हिसाबले दोस्रो माथिल्लो पद हो । उपराष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ ।  मुलुकमा उपराष्ट्रपतिको यो तेस्रो निर्वाचन हुन लागेको हो । हाल उपराष्ट्रपतिमा नन्दबहादुर पुन छन् ।

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ ।