३० पुस

कास्की। सत्तारुढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा(माओवादी केन्द्र)का कृष्णप्रसाद धिताल उम्मेदवार बन्ने भएका छन्। नेकपा(माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलको शुक्रबार साँझको बैठकले गोरखा क्षेत्र नं १ (१) बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।

सो दलका नेता एवम् प्रदेश सरकारका विनाविभागीय मन्त्री हरिबहादुर चुमानले दलको बैठकले सर्वसम्मत उम्मेदवार तय गरेको जानकारी दिए।

सत्ता गठबन्धनमा माओवादी केन्द्रले सभामुख पाउने निर्णय यसअघि नै भइसकेको छ। यहाँ नेकपा(एमाले)ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भागवण्डा गरिएको थियो।

सोहीअनुसार नेकपा(एमाले)का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर प्रदेशसभाबाट विश्वासको मत पाइसक्नुभएको छ । गण्डकीमा गठबन्धनका पक्षमा बहुमत रहेकाले गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित छ ।

सभामुख चयनका लागि प्रदेशसभाको बैठक शनिबार अपराह्न ३ बजे बोलाइएको छ  । प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेशसभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेशसभामुख चयन गर्न शनिबार बैठक बोलाइएको छ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुङ्गो लगाइसकेको छैन। कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ । साठी सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा(एमाले)का २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन्।