२६ पुस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् ।

आज बिहान ११ बजे सुरु हुने बैठकमा प्रचण्डले प्रधानमन्त्रीका लागि विश्वासको मत लिने भएका हुन् । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि सबै दलका सांसद र स्वतन्त्र सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको छ।

नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए। ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका प्रचण्डले १५ दिनमै विश्वासको मत लिन लागेका हुन्।

प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सांसदले समर्थन गरेका थिए । उनको पक्षमा १६९ मत छ । विश्वासको मतका लागि न्यूनतम १३८ मत चाहिन्छ ।