२७ मंसीर
पर्वत । विगतका हरेक निर्वाचनपछि मतदाताहरुको एउटै गुनासो हुने गरेको थियो, निर्वाचन अघि घरघरै आएर भेट्ने नेताहरु चुनावपछि फर्केर आउँदैनन्। पर्वतमा बिगतका ५ बर्ष पनि त्यस्तै रह्यो । चुनाव जितेर संघिय साँसद बनेर पुन : प्रतिनिधिसभामा उम्मेदवार बनेका पदम गिरिले यो प्रश्नको धेरै सामना गर्नुपर्यो । अहिले उनी बिजय उत्सव मनाउन र मतदातालाई धन्यवाद दिन गाउँ पुगेका छन् । उनी संगै पराजित बनेका नेपाली कांग्रेस नेता अर्जुनप्रसाद जोशीले पनि सोमबार पैयुँ गाउँपालिका पुगेर मतदातालाई धन्यवाद दिएका छन् । उनि पैयुँ गाउँपालिका- ४ हुवासमा पालिका स्तरिय कार्यक्रमको आयोजना गरेर मतदातालाई धन्यवाद दिएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले उनले निर्वाचनमा हार जित हुनु स्वाभाविक प्रक्रिया भएको बताए। ‘आफू पराजित भए पनि कहीं कतै विचलित भएको छैन्, जनताको सुख–दुःखमा सधैँ साथ दिइरहनेछु’ उनले भने।
उनले समीक्षामा पराजित हुनुका कारणहरु केलाउँदै आगामी दिनमा पार्टी सशक्त बन्ने र त्यसका लागि नेता–कार्यकर्तालाई अहिल्यैदेखि खटिन समेत अपिल गरे । नेता जोशीले ५ दलिय गठबन्धन आगामी पाँच बर्षसम्म टिक्ने दाबी गरे । उनले भने ,’समृद्धि र आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएकाले पनि गठबन्धनको राजनीतिले निरन्तरता पाउनुपर्छ।,’
कार्यक्रममा नेपाली कांग्रेस पर्वतका उपसभापति शिवप्रसाद सुवेदी, नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि खगेन्द्रप्रसाद तिवारी, नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि एवं गण्डकी प्रदेशका साँसद रेखा गुरुङ, नेकपा समाजबादी गण्डकी प्रतिनिधिसभाकी समानुपातिक उम्मेदवार धनकुमारी गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा गठबन्धनमा आवद्ध दलका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस पैयु गाउँपालिका सभापति डम्बरकुमार प्रधानको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन पालिका सचिव मीनप्रसाद न्यौपानेले गर्नुभएको थियो ।









