२९ कार्तिक
पोखरा । नक्कली गरगहनाहरु बनाई धितोमा राखी कर्जा लिएर ठगी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पर्वत जिल्ला कुश्मा नगरपालिका -३ स्थायी घर भइ हाल पोखरा महानगरपालिका -१८ सराङकोट बस्दै आएका २५ वर्षीय अभिषेक सुनारलाई नक्कली सुनका गरगहना धितोमा राखेर कर्जा लिएर ठगी गरेको आरोपमा पक्राउ गरेको हो।

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार सुनारले लामो समयसम्म कर्जाको साँवा बुझाउन नआएपछि शंका लागि उनले धितोमा राखेको गरगहना चेक गर्ने क्रममा कमसल सुन प्रयोग गरी गरगहना तयार गरेको खुलेको हो। सुनारले पोखरा -१७ बिरौटास्थित राष्ट्रिय वाणिज्य बैंकबाट १६ लाख ६० हजार र पोखरा -८ पृथ्वीचोकस्थित वाणिज्य बैंकबाट ७ लाख ४५ हजार गरी कूल २४ लाख ५ हजार रुपैयाँ कर्जा लिएको प्रवक्ता तिवारीले जानकारी दिए।
हाल पक्राउ परेका उनीमाथि विश्वास घात तथा आपराधिक लाभ सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थपको अनुमती लिएर आवश्यक अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
साथै अनुसन्धानको क्रममा सुनारले धितोमा राखेका गरगहनाहरू नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीमा चेक जाँचको लागि पठाइएकोमा उक्त गरगहना नक्कली सुनबाट तयार गरिएको भन्ने परीक्षण प्रतिवेदन प्राप्त भएको पनि सुचनामा जनाइएको छ । गण्डकन्यूजवाट









