२६ कार्तिक

पर्वत । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मिति नजिकिदै गर्दा पर्वतका राजनीतिक दलहरु सक्रिय रुपमा प्रचार प्रसारमा जुटेका छन् । नेकपा एमाले पर्वतको चुनावी सभा शुक्रवार फलेवास नगरपालिका वडा नं। ३ शंकरपोखरीमा सम्पन्न भएको छ । एमालेवाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्याल सहित केन्द्र, प्रदेश, जिल्ला र नगरस्तरका नेताहरुले शंकरपोखरीका विभिन्न टोल र बस्तीमा पुगेर टोलसभा तथा घरदैलो गर्नुभएको छ । सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले शंकरपोखरीमा लामो समयदेखि समस्याको रुपमा रहेको खानेपानीको समाधान गर्न नेकपा एमालेकै सरकारले पहल गरेको बताउनुभयो ।

शंकरपोखरीवासीको समृद्धि र विकास तथा गाउँमा आवश्यक पूर्वाधारहरुको विकासका लागि पनि नेकपा एमालेलाई बिजयी गराउन आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालले नागरिकका थुप्रै आवश्यकताहरु पुरा गर्न बाँकी रहेको बताउँदै चुनावपछि एमालेको नेतृत्वमा बन्ने सरकारले ती सवै पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसैगरी नेकपा एमाले प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरको चुनावी कार्यक्रम जलजला गाउँपालिकाको धाईरिङमा सम्पन्न भएको छ ।









