२ कार्तिक

साजन परियार,पर्वत ।  एमाले सरकारमा हुँदा गाउँको विकासमा कुनै सिन्को नभाँचेको बरु गठबन्धन सहितको काँग्रेस सरकारले विकासको कामलाई निरन्तरता दिएको गठबन्धन दलका उम्मेदवारले बताएका छन् । पर्वतको दक्षिण क्षेत्रमा चुनावी कार्यक्रम लिएर बस्ती बस्ती पुगेका गठबन्धन दलका उम्मेवारहरुले केपी ओलीको सरकार रहँदा देशलाई लुट्ने काम बाहेक केही नगरेको भन्दै त्यसता दलका उम्मेदवारहरूलाई बहिष्कार गर्न अपिल गरेका छन् ।

गठबन्धन दलका साझा प्रतिनिधि सभा सदस्य उम्मेदवार नेपाली काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले निर्वाचन लगत्तै आफूहरूको सरकार बन्ने बताउनु भएको छ । “अब हेरिराख्नु होला, निर्वाचनपछि सरकारमा पुग्छौँ, त्यहाँ हामी मात्र पुग्दैनौँ गठबन्धन दललाई पनि सँगै लानेछौँ ।”, जोशीले भन्नुभयो, “जनताको बलिदानबाट ल्याएको संविधानलाई कत्लेआम गर्ने एमालेलाई निर्वाचनबाट नेपाली जनताले भित्तामा प¥याउने छन् ।” उनी विगतमा बाम गठबन्धन सँगै आफ्नो विरुद्ध भ्रम छरेका कारण निर्वाचन हारे पनि यस पटक जनताले सक्कली दल र सक्कली उम्मेदवार पहिचान गरी भोट हाल्नेमा ढुक्क छन् ।

नेपाली काँग्रेसका त्यागी नेता गठबन्धनका साझा उम्मेदवार प्रदेश सभा ख) पर्वतका ऋषिकेश तिवारीले गाउँका युवालाई विदेश पलायन हुन नदिने गरी कार्यक्रमहरू ल्याइने बताएका छन् । “म बढी राजनीति गफ गर्दिन, काममा विश्वास गर्छु ।”, उनले भने, “म सांसदको लोगो भिर्न मात्र जाने होइन कि गाउँमा बसूँबसू कसरी बनाउने र कृषिमा युवालाई आकर्षित गर्दै उनीहरूलाई कसरी उद्यमी बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ ।” नेपाली काँग्रेसका मुख्य सचिव बनिसकेका तिवारीले मुलुकको हित र संविधान रक्षाका लागि गठबन्धनको जित अपरिहार्य रहेको बताए ।