८ असोज

पर्वत । नेपाली काँग्रेस पर्वतले विजयादशमी २०७९ को अवसर पारेर जिल्लाका सात वटै पालिकामा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम संचालन गर्ने भएको छ । आसन्न मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरेर नेपाली काँग्रेस पर्वतले शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

जिल्ला कार्य समिति पर्वतले शुक्रवार सबै पालिका प्रमुखलाई पत्र पठाउँदै शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा वडा कार्यसमितिहरु, टोल कार्यसमितिहरु, क्षेत्रीय/प्रदेश प्रतिनिधिहरु, भातृ तथा शुभेच्छुक संस्थाहरु र पालिका कार्यसमितिलाई सुचना गरि कार्यक्रममा अनिवार्य उपस्थितीका लागि अनुरोध गरेको छ ।

नेपाली काँग्रेस पर्वतका सचिव गुप्तनिधी शर्माले दिएको जानकारी अनुसार नेपाली काँग्रेस पर्वतले असोज ८ गते जलजला गाउँपालिकामा कार्यक्रम आयोजना गरेको छ । काँग्रेसले असोज ९ गते मोदी गाउँपालिका, १० गते महाशिला गाउँपालिका, ११ गते पैयुँ गाउँपालिका, १२ गते बिहादी गाउँपालिका, १३ गते फलेवास नगरपालिका र १४ गते कुश्मा नगरपालिकामा कार्यक्रम आयोजना गरेको छ ।

नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर कार्यक्रम आयोजना गरेको बताए । शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमले कार्यकर्ता बिच भातृत्व विकास हुने र आन्तरिक एकतामा बल पुग्ने उनको भनाई छ । नेपाली काँग्रेस पर्वतले पछिल्लो समय मंसिर ४ को निर्वाचनलाई लक्षित गरेर आफ्ना गतिविधिलाई सक्रिय बनाउँदै आएको छ ।