२८ साउन

पर्वत  । नेपाली काँग्रेस पर्वतका नेता तथा कार्यकर्ताले स्थानीय तह निर्वाचनमा गठबन्धन सम्बन्धी नमुना मतपत्र (शिक्षा) जनताको घर–घरमा पु-याउन नसक्दा पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेकोे गुनासो गरेका छन् ।

नेपाली काँग्रेस पर्वतले स्थानीय तह निर्वाचन–२०७९ को जिल्ला स्तरीय समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै काँग्रेस नेता तथा कार्यकर्ताहरुले पार्टीले गठबन्धन सम्बन्धी नमुना मतपत्र (शिक्षा) जनताको घर–घरमा पु-याउन नसक्दा धेरै भन्दा धेरै मत बदर भएको गुनासो गरेका हुन् ।

नेपाली काँग्रेस पर्वतले बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा पर्वतका सात पालिका मध्ये पाँच पालिका प्रमुख जितेको छ । मुख्य प्रतिस्प्रर्धी नेकपा एमालेले दुई पालिका सहित पाँच उप जितेको छ भने सदस्यहरुमा पनि एमालेकै बहुमत छ । मतदाता शिक्षाको अभावका कारण गठबन्धनलाई आउने भोट उल्लेखनीय मात्रामा बदर हुँदा थोरै मतान्तरले धेरै ठाउँमा काँग्रेसले पराजय व्यहोर्नुपरेकोे नेताहरुको तर्क छ । मतदाता शिक्षाको विषयमा सचेतना फैलाउन सकेको भए जिल्लाका सबै पालिकामा बहुमत आउने काँग्रेसको दावी छ । गठबन्धनका कारण काँग्रेसको धेरै सिट गुमेको बताउँदै आगामी निर्वाचनमा गठबनधन सम्बन्धी चुनाव चिन्हलाई विशेष ध्यान दिनुपर्ने काँग्रेसीहरुको माग छ ।

कार्यक्रममा बोल्ने अधिकाँश नेता, कार्यकर्ताले मुलुकको संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन अनिवार्य रहेको बताउँदै आगामी बैशाख ४ गते हुने प्रदेश र संघको निर्वाचनमा गठबन्धनका साझा उम्मेदरलाई जिताउन सबै आ–आफ्नो ठाउँबाट लाग्ने संकल्प गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले विगतमा भएका कमीकमजोरीलाई आत्मसाथ गदै अगाडि बढ्नुपर्ने बताए । उनले अहिलेको निर्वाचनबाट पाठ सिकेर आसन्न संघ र प्रदेश निर्वाचनमा अहिलेदेखि नै तयारी थाल्नुपर्ने बताए । संस्था बलियो भए भविष्यमा सबैको पालो आउने भन्दै नेता जोशीले काँग्रेसलाई बलियो बनाउनुपर्ने जिकिर गरे । ‘काँग्रेसलाई बलियो बनाउन लागौँ, जसले टिकेट पाउँछ आँखा चिम्लेर सहयोग गछौँ भन्ने सन्देश जिल्लाभरी पु-याउन सके कार्यकर्ताहरुमा उत्साह थपिने छ नेता जोशीले भने,‘ गठबन्धन हाम्रो हातमा छैन, पहिला पनि थिएन, बरु जसले टिकेट ल्याउँछ, जो सँग जनतम छ, उसैलाई सिफरिस गरौँ ।,’ नेता जोशीले आसन्न निर्वाचनहरुमा पनि सशक्त भूमिका निर्वाह गर्न सबैलाई आग्रह गर्दै पार्टीले टिकट दिएर निर्वाचनमा होमिने उम्मेदवारलाई व्यक्तिगत भन्दा संस्थाको प्रतिनिधिका रुपमा लिएर सहयोग गर्नुपर्ने बताए ।

नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले गठबन्धन, उम्मेदवार चयन, प्रचार लगायतका कारणले कांग्रेस अधिकाँंस क्षेत्रमा सफल भएको भए पनि साङ्गठनिक तथा प्राविधिक कारणले कतिपय जित्नैपर्ने पालिका र वडाहरुमा कमजोर भएको बताए । साथै अहिले भएका केहि गल्ती कमजोरीहरुलाई आगामी निर्बाचनमा नहदोर्याउन र कसरी नेपाली काँग्रेसको पक्षमा जनलहर सिर्जना गर्नसकिन्छ भन्ने विषयमा आफु केन्द्रित रहेको सभापति जोशीको भनाई छ ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका निर्वतमान पार्टी सभापति खिमप्रसाद भुषाल, पूर्व पार्टी सभापति नवराज गुरुङ, नेपाली काँग्रेस गण्डकी प्रदेश गण्डकी प्रदेश सदस्य एवम् कुश्मा नगरपालिकाकी निवर्तमान उपमेयर सिता काफ्ले लामिछाने, नेपाली काँग्रेस गण्डकी प्रदेश गण्डकी प्रदेश सदस्य मिना केसी, फलेवास नगरपालिकाका मेयर गंगाधर तिवारी, गण्डकी प्रदेश गण्डकी प्रदेश साँसद ललिताकला गुरुङ, नेपाली काँग्रेस प्रदेश सभा (ख) क्षेत्रीय कार्य समितिका सभापति एवम् बिहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङ, महाधिवेशन प्रतिनिधी एवम् महिला नेत्री राधाकुमारी कुवँर क्षेत्री, महाधिवेशन प्रतिनिधी काँग्रेस नेता राम शर्मा,  नेपाली काँग्रेस पर्वतका पूर्व कोषध्याक्ष एवम् जलजला गाउँपालिका पूर्व अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’, नेपाल महिला संघ पर्वतकी अध्यक्ष मुना शर्मा लामिछाने,नेपाली काँग्रेस पर्वत सभा ख का क्षेत्रीय सचिव छबिलाल तिवारी लगायत ३ दर्जन कार्यकर्ताले मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्थानीय तह निर्वाचनको समग्र (सात वटै पालिकाको) प्रतिवेदन नेपाली काँग्रेस पर्वतका सचिव गुप्तनिधी शर्माले प्रस्तुत गर्नुभएको थियो । सभापति जोशीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाली काँग्रेस पर्वतका उपसभापति डा. चुडामणि शर्मा र धन्यवाद मन्तव्य अर्का उपसभापति शिव सुवेदीले गर्नुभएको थियो । कार्यक्रमको संचालन नेपाली काँग्रेस पर्वतका सहसचिव अच्युत तिवारी र तिलकप्रसाद भुषालले गर्नुभएको थियो ।