२४ साउन
पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ धारापानीमा ‘हाइभोल्टेज करेन्ट’ प्रवाह हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी शिवराज बुढाथोकीका अनुसार घटनामा परी स्थानीय ५० वर्षीया सीता केसीको मृत्यु भएको छ । घाइतेहरूको म्याग्दीस्थित बेनी अस्पतालमा उपचार भइरहेको छ । घटनामा बाख्रा फर्मका १३ बाख्रा पनि मरेका छन् ।

गाउँका करिब एक सय घरका विद्युतीय सामग्रीहरू जलेका छन् । गाउँपालिका अध्यक्ष राजु आचार्यले अत्यधिक करेन्ट प्रवाह हुँदा दुई सयभन्दा बढी घरका मिटरबक्स र सबै वायरिङ जलेको जानकारी दिए । स्थानीयको सक्रियताका कारण घरहरुमा भने कुनै भौतिक क्षति हुन पाएन । धाइरिङको धारापानीमा बिहान करिब ७ बजे एकैपटक उक्त घटना भएको हो ।

प्रहरीका अनुसार विद्युत्‌को मुख्य लाइन र घरघरमा वितरित लाइनका तार एकै पोलमा टाँगिएको र सोही मुख्य लाइनको तार वितरण लाइनमा जोडिँदा ‘हाईभोल्टेज’ लाइन बगेका कारण घटना भएको हो ।

नेपाल विद्युत् प्राधिकरणको पर्वत वितरण केन्द्रले बाँस ढलेर मेनलाइनको तार वितरण लाइनमा छोइँदा घटना भएको जनाएको छ ।