१० साउन

चितवन । चितवनमा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन्। भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले आइतबार राति १० बजेतिर घरायसी विवादमा आफ्नी श्रीमती ३५ वर्षीय रुष्मा आचार्यलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कृष्णप्रसादले आफ्नै घरको ३ तलामाथि रहेको बैठक कोठामा श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए। तीन तलामाथिबाट हाम फालेर भाग्न खोज्दा कृष्णप्रसादको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

खुकुरी प्रहारबाट गम्भीर घाइते रुष्माको उपचारका लागि पुरानो मेडिकल कलेज लगिएकोमा राति नै १०ः४० बजे मृत्यु भएको हो भने घाइते भएका कृष्णप्रसादको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राति ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।