२ असार
पर्वत । पर्वतको फलेवास नगरपालिका मुडिकुवास्थित सार्वजानिक जग्गामा पार्क निर्माण गरिने भएको छ । पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य सहित फलेवास नगरपालिका–४ मुडिकुवा सिर्सुवामा ‘सामुदायिक पार्क’ निर्माण गर्न लागिएको हो । नेपाल सरकारको वन विभाग अन्तर्गत पार्क निर्माण सहरीवृक्ष रोपण अन्र्तगत २५ लाख लागत र वन कार्यालय पर्वतको प्राविधिक सहयोगमा पार्क निर्माण गर्न लागिएको स्थानीय युवा दिनेश लामिछानेले जानकारी दिनुभयो ।
पार्कको पूर्व साँसद एवम् नेपाली काँग्रेसका पूर्व मुख्य सचिव ऋषिकेश तिवारीले शिल्यान्यास गर्नुभएको छ । शिल्यान्यास कार्यक्रममा बोल्दै तिवारीले पर्वत जिल्लालाई पर्यटकिय र कृषि उद्यमशिलताको रुपमा नमुना जिल्ला बनाउने उद्देश्य अनुरुप पार्कको शिल्यान्यास गरेको बताउनु भयो । मुडिकुवा सदरमुकाम कुश्मा बजारसँग जोडिएको वडा हो । सदरमुकाम कुश्मा बजारसम्म आउने पर्यटकलाई तान्नका लागि पार्कले सहयोग पुग्ने उहाँको भनाई छ । ‘पार्क एउटा विकासको पूर्वाधार हो, समृद्धिको आधार हो । यसले समग्र फलेवास नगरपालिकाकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएका छौँ,’–तिवारीले भन्नुभयो । उहाँले पार्कको स्तरियकरण गर्नको लागि भावी दिनमा थप बजेट बिन्योजन हुने आश्वासन समेत दिनुभयो । संस्थाका संस्थापक समेत रहेका तिवारीले पर्वत समुदायिक संस्थाले उद्यमशिलता सँगै पर्यटन पर्वद्धनमा समेत जोड दिएको बताउनु भयो ।
शिल्यान्यास कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य एवम् महाधिवेशन प्रतिनिधि जितवहादुर नेपाली, नेपाल दलित संघ पर्वतका सभापति याम परियार ‘शिव’ लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
पर्वत सामुदायिक संस्थाद्धारा निर्मित पार्क सुविधासम्पन्न हुनेछ । पार्कभित्र चारैतिर रेलिङ निर्माण गरिने भएको छ । आधुनिक शौचालय निर्माण हुनेछ । विभिन्न प्रजातिका फुलहरु रोप्ने र चाईनिज दुवो लगाईने छ । मुख्य गरि बाह्रय तथा आन्तरिक पर्यटकलाई केन्द्रमा राखेर पार्क निर्माण गरिएको संस्थाका कोषध्याक्ष थानेश्वर भुषालले जानकारी दिनुभयो ।









