१६ जेठ
काठमाडौं । हिजोदेखि हराइरहेको तारा एयरको विमानको खोजी कार्य आज बिहानैबाट सुरु भएको छ । मानापाथी हिमाल र निलगिरि हिमाल तर्फ खोजी केन्द्रित गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए ।
हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान बेपत्ता भएको छ । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार छन् । हिजो दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । आज बिहान ५ बजेदेखि फेरि खोजी कार्य सुरु गरिएको हो ।
सम्पर्कविहीन भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारका सातजना रहेको पुष्टि भएको छ । विमानमा राजनकुमार गोले, उनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । उनीहरू मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए । विमान बेपत्ता भएको खबरले परिवारमा रुवावासी चलेको छ भने गाउँले चिन्तित भएका छन् ।









