१० जेठ

पर्वत । चुनावमा ठुलो आश्वासन दिने तर जितेपछि नाकमुख नदेखाउने विगतको परम्परालाई तोड्दै यहाँका जनप्रतिनिधी मतदातालाई धन्यवाद दिन तथा विजयको खुसियाली बाँड्न गाउँ पसेका छन् । पर्वतको उत्तरी क्षेत्रमा पर्ने जलजला गाउँपालिकामा सोमबार पुगेका नेपाली काँग्रेसका केन्द्रिय नेता एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपध्याक्ष दिपक आचार्य ‘आकाश’ लगायत वडा अध्यक्षको टोली सँग यहाँका नागरिकले आफ्ना गुनासो तथा समस्या राखेका छन् ।

जलजला गाउँपालिका वडा नम्वर १ बाँसखर्कपर्ने मल्लगाउँ, ४ खोलाखेत, ५ नम्वर वडाको बनबढे, डाँडाकटेरी, लोप्रे, गिद्धश्वर र ६ को भोटेडाँडा लगायतका ठाउँ भौगलिक हिसावले विकट मानिन्छ । यस क्षेत्रमा अर्जुनप्रसाद जोशी साँसद हुँदा सडक विस्तार भएपनि स्तरउन्नती हुन सकेको छैन । बिद्यालय भवन भत्किएको छ । रोजगार, खानेपानी, संचार, स्वास्थ्य लगायतका विकासे पूर्वाधार निर्माण हुन सकेको छैन । स्थानीय बासिन्दाहरुले सडक र विद्यालय जस्ता आधारभूत आवश्यकता तत्काल पुरा गर्नका लागि नेता जोशी सँगै गाउँपालिकाका अध्यक्ष र उपध्याक्ष सँग आग्रह गरेका छन् ।

नेता जोशीले यस क्षेत्रमा समस्याप्रति चिन्तित रहेको बताउँदै सडक मर्मत र विद्यालय भवन निर्माणका सहयोग गर्ने बताउनु भयो । उहाँले हिमालय आधारभूत विद्यालय भवनको मर्मत गर्नका लागि त्तकालका लागि ५ लाख बिन्योजन गरेको र चार कोठे भवन निर्माणका लागि योजना स्वीकृत भैसकेको जानकारी दिनुभयो । नेता जोशीले यस क्षेत्रको पूर्वाधार निर्माण, आर्थिक, सामाजिक, शैक्षिक सबै क्षेत्रको विकास काँग्रेसले नै गरेको दाबी गर्नुभयो । ‘जलजलामा खानेपानी, शिक्षा, सडक, स्वास्थ्य, पूर्वाधार निर्माणका जति पनि काम भएका छन्, त्यो काँग्रेसकै नेतृत्वमा भएको हो, अझै गर्नुपर्ने धेरै काम छन्, बाँकी काम पनि पूरा गर्छौँ,’ उहाँले भन्नुभयोे,।

जलजला गाउँपालिका अध्यक्ष आचार्यले जलजलाको विकास र समृद्धिमा कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । अध्यक्ष आचार्यले स्थानीय जनतासँग सल्लाह लिएर मात्र योजना तयार गर्ने बताउनुभयो । ‘जनताको भावना बुझेर काम गर्नुपर्छ’, उहाँले भन्नुभयो,‘त्यसैले अहिले नागरिकका गुनासो सुन्ने मात्र काम भएको छ ।

उपध्याक्ष आचार्यले कृषि र पर्यटन क्षेत्रको विकास गरी पालिकामा समृद्धि ल्याउने बताउनुभएको छ । उहाँले सम्भावना कृषि र पर्यटनको रहेकाले त्यसको विकास गरी जलजलाको समृद्धि र विकास गर्ने बताउनु भयो । आफ्नो गाउँमै आएर काँग्रेस नेता जोशी सहित गाउँपालिका अध्यक्ष, उपध्याक्ष र वडा अध्यक्ष सहितको टोली आएर समस्या बुझ्ने गरेकोमा बनबढेका स्थानिय यामवहादुर पुर्जाले खुशी व्यक्त गनुृभयो ।