६ जेठ

पाँच दिनअघि वडाध्यक्षमा निर्वाचित भएका माओवादी केन्द्रका शमसेर सिंहलाई बिहीबार बिहान एउटा खबर आयो।

फोनमा उनलाई भनियो- ‘तपाईंको वडाको एउटा गन्न बाँकी रहेको मतपेटिका भेटियो।’

यो सुनेर सुरूमा त शमसेर सिंह अकमक्क परे। त्यसपछि हत्तपत्त गणनास्थलमा पुगे। नभन्दै भेटिएको एउटा मतपेटिका उनकै ८ नम्बर वडाको मतपेटिका रहेछ। यो घटना महोत्तरीको बर्दिवास नगरपालिकाको हो।

नयाँ मतपेटिका भेटिएपछि बिहीबार ३ बजे सर्वदलीय बैठकबाट उक्त मतपेटिकाको मतगणना गर्ने निर्णय भयो। पछि भेटिएको मतगणना गर्दा माओवादी केन्द्रका शमसेर सिंह लामा र नेकपा एमालेका रुद्र मगरले बराबरी मत पाए।

लामा र मगरबीच पाँच दिनअघिको नतिजामा जम्मा ७ मतको फरक थियो। लामाले ७५१ मत पाएका थिए भने मगरको ७४४ मत थियो।

तर भेटिएको मतपेटिकाको मत गणना गर्दा मगरले लामालाई उछिने। मगरले २३ मत पाए भने लामाले जम्मा १६ मत पाए। अन्तमा अघिल्लो मतपरिणाममा समेत जोड्दा दुवैको मत समान, ७६७ भयो।

अन्तमा मत बराबरी भएपछि गोलाप्रथा गर्दा वडाध्यक्षमा लामाले नै बाजी मारे। तर लामाले आफू पाँच दिनअघि विजयी हुँदाको जस्तो उत्साह आज नभएको प्रतिक्रिया उनले दिए।

‘जति मैले चुनाव जितेर आनन्द लिनुपर्थ्यो त्यो मैले अनुभूति गरेको छैन। लामाका अनुसार निर्वाचन सम्पन्न भएकै साँझ नको वडाबाट सबै मतपेटिकाहरू संकलन गरी बर्दिवासको गणनास्थल पुर्‍याइएको थियो। लामा भने त्यो रात मतगणना सुरू हुँदैन भनेर कार्यकर्तासहित घर फर्किए। तर साढे १२ बजेतिर उनलाई ८ नम्बर वडाको गणना सुरू भएको भन्ने जानकारी आयो।

‘त्यो रात मतगणना सुरू हुँदैन भन्ने हाम्रो बुझाइ रह्यो र हामी घर गयौं। तर साढे १२ बजेतिर तपाईंको वार्डको मतगणना सुरू हुँदैछ भन्ने सूचना आएपछि डेढ बजे राति मतगणना स्थल आइपुग्यौं,’ लामाले सेतोपाटीसँग भने, ‘मभित्र छिर्दा दस वटा जति मत गनिसकिएको थियो।’

आफ्नो वार्डको मतगणना सुरू भएपछि लामाले त्यो रात गणनास्थलमै कटाए। भोलिपल्ट दिउँसो १ बजेतिर उनको वार्डको गणना सकियो र लामा ७ मतले विजयी भएको भनेर घोषणा गरियो। विजयी भएको भन्ने घोषणा भएपछि लामा आफ्ना कार्यकर्तासहित गणनास्थलबाट विजय जुलुस लिएर घर गए।

बिहीबार बिहान एक्कासि लामालाई उनको वडाको थप एउटा मतपेटिका भेटियो भन्ने खबर आएको थियो।

‘आजको बिहानसम्म हामी कसैलाई पनि सूचना आएको थिएन। तर आज नगरपालिकाकै मतगणनाको अन्तिम दिनमा एउटा मतपेटिका फाल्टो भेटियो भन्ने खबर आयो। पछि मतगणना गर्ने कर्मचारीले हेर्दा वडा नम्बर ८ को सरस्वती माध्यमिक विद्यालयको मतपेटिका भन्ने भयो,’ लामाले भने।

यो खबरपछि अहिले लामा फेरि बर्दिवास पुगे। दिउँसो ३ बजे सर्वदलीय बैठकसँगै प्रक्रिया थालिएको थियो।अनि अन्तमा शमसेरसिंह नै वडाध्यक्ष भए। उनी यसअघिको निर्वाचनमा पनि वडाध्यक्ष विजयी भएका थिए।