२० वैशाख
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिबद्धतासहित सक्रिय रहने विद्रोही उम्मेदवार उपर पार्टी विधान बमोजिम हुने कारबाहीमा पुनः विचार गर्न सकिने जनाएको छ ।

कांग्रेसले सोमबार एक विज्ञप्तिमार्फत यही बैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकको कारबाहीमा पुनः विचार गर्न सक्ने जनाएको हो ।

पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यले आफ्नो उम्मेदवारीप्रति पुनः विचार गरेर सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निष्क्रिय गराउन कांग्रेसले आग्रह गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन निर्देशानुसार अनुरोध गरिएको छ ।

उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले वैशाख १६ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म समय निर्धारण गरेको थियो । उक्त समयमा कतिपय स्थानीय तहका उम्मेदवार स्वयंले आफ्नो उम्मेदवारी फिर्ता लिएका र कतिपय उम्मेदवारको उम्मेदवारी प्राविधिक कारणवश फिर्ता लिएका उम्मेदवारको नाम पनि उम्मेदवारको सूचीमा कायमै रहेको देखिएको कांग्रेसको भनाइ छ ।