११ वैशाख

पर्वत । पर्वतको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख सिता काफ्ले लामिछानेले राजीनामा दिनुभएको छ । आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन मनोनयन अघि राजीनामा दिनुपर्ने प्रावधान अनुसार शनिवार दुवै जनाले राजीनामा दिनुभएको हो ।

कुश्माका मेयर जोशीले उपमेयर सिता काफ्ले लामिछानेलाई र उपमेयर लामिछानेले मेयर जोशीलाई राजीनामा पत्र बुझाउनुभएको हो । आगामी स्थानीय तहको निर्वाचनमा पुन मेयरको उम्मेदवार बन्न राजीनामा दिएको दुवै जनाले बताउनुभएको छ । सो अवसरमा पाँच वर्षे कार्यकालको प्रगति विवरण समेत सार्वजनिक गरिएको छ ।

सिमीत श्रोत र साधनका बाबजुत सन्तोषजनक रुपमा पाँच वर्षमा काम भएको नगरप्रमुख जोशीले बताउनुभयो । उहाँले नगरपालिकाको प्रमुख प्रशासकिय भवन, सिटी हलसहितको बसपार्क र घण्टाघर निर्माण प्रकृया अघि बढाउँदा बढाउँदै कार्यकाल सकिएको बताउनुभयो । त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारका क्षेत्रमा उल्लेख्य काम भएको उहाँले आफ्नो प्रगतिविवरणमा उल्लेख गर्नुभएको छ ।

उद्योग, तथा पर्यटन, वन तथा वातावरण महिला शसक्तिकरण, कृषिको व्यावसायिकरण, पशुपालन, सहकारी लगायतका क्षेत्रमा नगरले धेरै उपलव्धीहरु हासिल गरेको प्रगति विवरणमा उल्लेख गरिएको छ । पाँच वर्षमा आफुले नगरवासीहरुको मन जित्न सफल भएको भन्दै पार्टीले टिकट दिएमा पुनः नगरप्रमुखमा लड्ने र यो कार्यकालमा अधुरा रहेका कामहरु पुरा गर्ने चाहाना रहेको जोशीले बताउनुभयो । त्यसैगरी उपप्रमुख सिता काफ्ले लामिछानेले पनि आफु कुश्मा नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताउनुभयो ।