१८ चैत

काठमाडौँ । सत्ता गठबन्धनले प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा छुट्टा–छुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ । बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकले प्रदेश, जिल्ला र स्थानीय तहमा समेत पाँच दलीय संयन्त्र बनाउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा पार्टीका सम्बन्धित तहका प्रमुखहरू सम्मिलित संयन्त्र निर्माण गर्ने निर्णय भएको जानकारी दिए ।

प्रदेश, जिल्ला र स्थानीय तहमा तत्कालै गठबन्धन दलको संयन्त्र बन्छ, त्यसले आफ्नो क्षेत्रमा गठबन्धनको अवस्था कस्तो छ, हुन्छ भन्नेबारे विस्तृतमा प्रतिवेदन तयार गरेर केन्द्रलाई पठाउँछ,’ उनले भने, ‘आगामी निर्वाचनमा हामी राष्ट्रियसभा सदस्यको निर्वाचनमा जस्तै एक ठाउँमा उभिएर चुनाव लड्छौँ ।

उनले ती संयन्त्रहरूलाई चैत्र २२ गतेभित्र पाँच दलको अवस्था कस्तो छ भन्नेबारे केन्द्रलाई प्रतिवेदन बुझाउन निर्देशन गरिएको जानकारी दिए । ‘हामीले जसरी राष्ट्रियसभामा चुनाव लड्यौँ, त्यसरी नै पाँच दलीय गठबन्धन एक ठाउँमा उभिएर चुनाव लड्ने निर्णय गरेका छौँ,’ उनले भने । उनले मुलुकभरको अवस्थाबारे जानकारी लिएपछि कहाँ कसरी तालमेल गर्ने भनेर निर्णयमा पुग्ने बताए ।