२ चैत्र
पर्वत । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा निर्माण गरिएको वडा कार्यालयको उद्घाटन गरिएको छ ।
नागरिकलाई सुविधायुक्त भवनबाट सहज रुपमा सेवा दिनका लागि निर्माण गरिएको उक्त भवनको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले मङ्गलवार उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै नगरप्रमुख शर्माले नगरपालिकाले सकेसम्म नागरिकमैत्री सेवा निर्माणको लागि हरबखत प्रयास गरिरहेको बताएका छन् । जनताको सेवा गर्नकै लागि आफूहरुलाई जनताले जनप्रतिनिधिको रुपमा निर्वाचित गरेकाले आफूहरु पनि त्यो जिम्मेवारी पूरा गर्नको लागि प्रयासरत रहेको उनको भनाई छ ।
नागरिकले सुविधा र सहजताको महसुस गर्न नसकेसम्म संघियता कार्यान्वयनको अनुभूति नहुने भएकाले नागरिकलाइै केन्द्रमा राखेर सेवा प्रदान गर्नु जनप्रतिनिधिहरुको कर्तब्य हुने नगर प्रमुख शर्माले बताए । ‘नागरिकले सहज र सुविधायुक्त सेवाको अनुभूति गर्न सकेनन भने जनप्रतिनिधिले पाएको जिम्मेवारी पूरा नभएको मानिन्छ,’ उनले भने, ‘हामीहरु सकेसम्म नागरिकमैत्री काम सम्पादन गर्ने प्रयासमा लागिरहेका छौँ । तर संघियता पहिलो पटक प्रयोगमा रहेका कारण धेरै कुराहरु सिकाई र अनुभवका चरणमा पनि रहेका छन् ।
कार्यक्रममा नगर प्रमुख पदका प्रत्यासी तथा नेपाली काँग्रेसका नेता गंगाधर तिवारी, नेकपा माओवादी केन्द्रका नेता कमल प्रसाद भुसाल, नेकपा एमालेका नेता बैकुण्ठप्रसाद भुसाल, फलेवास नगरपालिका वडा नं. ८ का मन बहादुर कुंवर, वडा नं. २ का वडाध्यक्ष गँगानारायण श्रेष्ठ लगायतले पनि बोलेका थिए ।
भवन उद्घाटन कार्यक्रम शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीको अध्यक्षतामा भएको थियो ।









