२५ फागुन
११२ औं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा कुश्मा नगरपालिका र सामाजिक विकास कार्यालय पर्वतले विभिन्न क्षेत्रमा योगदान पुर्याएका ८ जना महिलाहरुलाई सम्मान गरेको छ । दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ । सहकारी संस्था तर्फ तुप्ला शाक्य, समाजसेवा तर्फ मानकुमारी गिरी, यातायात चालक यामकुमारी अधिकारी, कृषि तर्फ चुम्वन जोशी, पशुपालन तर्फ कल्पना शर्मा, स्वास्थ्य सेवामा कार्यरत माया नेपाली, शिक्षा क्षेत्रमा कार्यरत कमला देबी पौडेल र उद्यमी खेमकुमारी खर्जित पुनलाई सम्मान गरेको कुश्मा नगरपालिकाका महिला विकास निरीक्षक बुद्धकुमारी अर्यालले जानकारी दिनुभयो ।

कुश्मा नगरपालिकाका नगर उपप्रमुख सीता कुमारी काफ्ले लामिछानेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तव्य सामाजिक विकास समितिका संयोजक एवं वडा नं ११ का वडाअध्यक्ष शिव प्रसाद पौडेलले राख्नुभएको थियो । उपप्रमुख सीता कुमारी काफ्ले लामिछानेले नारीहरुको हक अधिकार स्थापित गर्न सामाजिक‚ आर्थिक‚ राजनितिक रुपमा महिला सशक्तिकरण हुन आवश्यक रहेको बताउँदै जसका माध्यमबाट राज्यका प्रमुख अंगहरुमा महिलाहरुको सार्थक र अर्थपूर्ण सहभागिता सुनिश्चितता हुने धारणा राख्नुभयो । उहाँले महिला लाई सफल बनाउन परिवारले पनि साथ दिनुपर्ने भन्दै महिलाले नेतृत्व गरेका कामहरु सफल हुने गरेको दाबी गर्नुभयो । संविधानले समानताको परिकल्पना गरेको बताउँदै लामिछानेले संविधानका कुरा व्यवहारमा लागु हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमान सिंह गुरुङले लैङ्गिक समानता र सामाजिक न्याय प्राप्त गर्नका लागि परिवार‚ समाज‚ राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमानै नारी सहभागिताको विषयलाई बहुपक्षिय सवालको रुपमा उठान गरि बहस गर्न जरुरी रहेको कुरा ‍औल्याउनु भयो ।
कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख मोहनचन्द्र सुबेदी , कुश्मा नगरपालिका वडा नं. ५ का अध्यक्ष चित्रकला भारती शर्मा,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ पर्वतका अध्यक्ष गणेश वहादुर क्षेत्री,मानव अधिकार संगठनका अध्यक्ष माधव पौडेल,गैरसरकारी संस्था महासंघका सचिव कृष्ण प्रसाद शर्मा,मानव अधिकार रक्षक संजालका अध्यक्ष सीता केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त अन्तरकृया कार्यक्रममा कुश्मा नगरपालिकाका वडाअध्यक्षहरु‚ कार्यपालिका सदस्यहरु‚कर्मचारीहरु‚ उद्यमी‚ व्यवसायी‚ संघ–संस्थाका प्रतिनिधि एवं महिला समूहहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखा प्रमुख डिल कुमारी शर्माले गर्नुभएको थियो ।