
२२ फागुन
पर्वत । पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवामा स्थापना भएको सामुदायिक खाद्य प्रसोधन उद्योग २२ बर्षमा प्रवेश गरेको छ । स्थानीय उद्यमी थानेश्वर भुषालले वि.स २०५८ साल देखी निरन्तर रुपमा खाद्य प्रसोधन उद्योग संचालन गदै आएका छन् । उनले हरेक बर्ष नयाँ नयाँ बस्तुको उत्पादन गदै आएका छन् । भुषालले स्थानीय किसानले उत्पादन गरेको मकै, भट्ट, फापर, चना लगायतको मिश्रणबाट पोशिलो खाजा उत्पादन शुरु गरेको ४ वर्ष भयो । उनले उत्पादन गरेको सातु शुरुका दुई वर्ष जिल्लाका बिभिन्न खाद्य पसल, डिपार्टमेण्टल स्टोर हुँदै अहिले बिदेश निर्यात गर्न शुरु गरेका छन् । उद्योगले किसानले उत्पादन गरेका मकै, भट्ट, फापर, गहुँ लगायतका अन्नहरु भुटेर विभिन्न परिकार उत्पादन गर्न थालेका हुन् ।
बजारमा अर्गानिक खाजाको माग भैरहेकोले बजारमा सातु बनाएर विक्री गर्न थालेको भुषालले बताए । गाउँमा चाख नभएपनि बजार र बैदेशिक रोजगारीमा जानेहरुले यस्तो परिकारको माग गर्नेगरेको भुषालले बताए । ‘गाउँमा यो पुरानो परिकार भन्दै खासै चाख गर्दैनन्,’ उनले भने, ‘गाउँबाट बजार झरेका र बिदेश जानेहरुले निकै माग गर्न थालेका छन् ।’ उनका अनुसार जापान, अमेरिका, बेलायत, अस्ट्रेलिया, कोरिया लगायततमा यहाँ उत्पादित सातु निर्यात भइरहेको छ ।
उद्योगमा भुषालले गएको ७ वर्षदेखि लप्सीको अचार, क्याण्डी, तितौरा, अदुवाको क्याण्डी लगायतका परिकार अमेरिका र युरोपका बिभिन्न मुलुकहरुमा निर्यात गर्दैआएका थिए । लप्सी, अदुवा र अमलाका अर्गानिक परिकार माग गर्ने देशहरुबाट गाउँघरमा उत्पादित मकै र भट्टको परिकार समेत माग हुन थालेपछि ‘पोशिलो सातु’ नाम दिएर बिभिन्न अन्नको मिश्रण गरि सातु उत्पादन थालेको भुषाल बताउँछन् । ‘धेरैजसो गैर आवाशिय नेपालीहरुले कोशेलीका रुपमा लैजान्छन्,’ उनले भने, ‘दुई वर्षदेखि व्यवसायिक रुपमै केहि उत्पादन अमेरिका पठाउँछु । यो पोशिलो खाजा पनि उता धेरै माग बढेपछि उत्पादन शुरु गरेको हुँ । अहिले राम्रो माग छ ।
गत आर्थिक वर्षमा करिव तीन क्विण्टल सातु बिदेश निर्यात गरेको उनले बताए । उद्योगले यसअघि गाउँघरमा खेर गएका लप्सी, अमला, अदुवा लगायतका परिकार उत्पादन गर्दैआएको थियो । तीन वर्षअघि गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उद्योगको क्ष्ँमता बिस्तार गरि घरेलु सातु बनाउने उद्योगमा लगानी गरेपछि भुषाल त्यसमा लोभिएका हुन् । सातु उत्पादन गर्न थालेपछि आम्दानी पनि बढेको छ । यहाँको सातु अहिले कुश्माबजारमा खाद्य स्टोर्स, डिमार्टमेण्टलले खरिद गर्ने गरेका छन् ।








