९ फागुन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्तागठबन्धन ‘घ्यू बेचुवा र तरबार बेचुवा’जस्ता भएको टिप्पणी गरेका छन् । उनले एमालेलाई देखाएर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आपसमा हाबी हुन खोजेको धारणा राखेका छन् ।
उनले एमसीसीको विषयमा गठबन्धन एमालेलाई देखाएर क्याबिनेटमा सुरक्षा टाइट गर्ने निर्णय गर्ने, सडकमा हिंसात्मक विरोधमा कार्यकर्तालाई उकास्न लागि परेको दाबी गरे। ‘गठबन्धन वालाहरू घिउ बेचुवा र तरबार बेचुवा जस्ता ! ’ उनले भने, ‘प्रमको दल र सभामुखको दल दुबै एमालेलाई देखाएर एक-अर्कामाथि हावी हुने दाउमा छन्। क्याविनेटमा सुरक्षा टाईट गर्ने निर्णय गर्ने, सडकमा हिंसात्मक बिरोधमा कार्यकर्तालाई उकास्ने।’
उपमहासचिव रिमालले सत्ता गठबन्धन कपटपूर्ण अभ्यासमा रहेको बताए। उनले भने, ‘हाउसमा दलको जानकारी बेगर ‘सिखण्डी’ खडा गरेर बहस पनि यसैगरी, निर्णय पनि यसैगरी हुने भन्दै चिट पनि मेरै-पट पनि मेरै, चिची पनि मलाई- पापा पनि मलाईको कपटपूर्ण अभ्यासमा गठबन्धन छ !’
एमालेले भने गठबन्धन नटुटेसम्म एमसीसी प्रस्तावमा मत नहाल्ने रणनीति बनाएकोछ। अस्तिसम्म टेबल गरे मात्रै पनि सरकार छोड्न निर्णयसमेत गरिसकेको माओवादी केन्द्रले पेस गर्न सहमति दिएको छ। सत्ता भत्किने डरका कारण एकीकृत समाजवादी पेस गर्न दिने निर्णय गर्न बाध्य भयो। माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एमसीसीको पक्षमा भोट हाल्न बाध्य बनाउने वा गठबन्धन भत्काउने रणनीति एमालेको देखिन्छ।
सभामुख अग्निप्रसाद सापकोटा एमसीसी सदनमा पेस नगर्ने अडानबाट पछि हटे। सभामुखले यसअघि राष्ट्रिय सहमति जुटे र संसद्को अवरोध हटे मात्रै एमसीसी टेबल गर्ने सर्त राखेका थिए। तर, दुवै विषय पूरा नहुँदै उनी एमसीसी टेबल गर्न दिए। आइतबार एमसीसीका सन्दर्भमा त प्रचण्डले आइतबार पाँच ‘अवतार’देखाएको भन्दै आलोचना भइरहेको छ । उनले एमसीसी संसद्मा लैजान बिहान सत्ता गठबन्धनमा सहमति जनाए। क्षणभरमै प्रमुख सचेतकमार्फत असहमति जनाउन लगाए। पार्टीका अर्थमन्त्रीलाई संसद्मा अनुपस्थित गराए। सम्झौता टेबल भएपछि पनि ‘पारित गर्न नदिने’ धारणा सार्वजनिक गरेर प्रचण्डले फेरि ‘भ्रम’ फिंजाएका छन्।









