९ फागुन

पर्वत । नेपाली कांग्रेस मोदि गाउँपालिका–८ चित्रेले कार्यालय स्थापना गरेको छ । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषण गरे सँगै कांग्रेसले आफ्ना गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउन कार्यालय स्थापना गरेको हो । पार्टी कार्यालय संचालनका लागि स्थानीय ओम प्रसाद गुरुङले निशुल्क रुपमा दुई वटा कोठा उपलब्ध गराएका हुन् । कार्यालयको उद्घाटन गदै नेपाली कांग्रेसका निर्वतमान केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य अर्जुनप्रसाद जोशिले १४ औँ महाधिवेशन प्रश्चात जिल्लामा पार्टीका गतिविधी बढेको बताउनुभयो । विकास निर्माणले मात्रै चुनाव नजित्ने भन्दै नेता जोशीले संङगठन पनि बलियो हुनुपर्ने बताउनुभयो ।

अघिल्लो निर्वाचनमा काँग्रेसमा आएको बिचलनका कारण कम्युनिष्टहरुले फाईदा उठाएको बताउँदै आगामी बैशाखमा हुने निर्वाचनमा काँग्रेसका नेता कार्यकर्ता इमान्दार भएर लाग्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘आआफ्नो स्थानबाट इमानदार भएर लाग्ने हो भने देशमा काँग्रेस छाउने छ ।’ नेपालमा आफैं बलियो भएर र जनताले रुचाएर कम्युनिष्ट शासन आएको होइन, काँग्रेस पार्टीभित्र आफू भए ठीक अरु बेठीक भन्ने प्रवृत्ति तथा काँग्रेसले आफूले गरेको कामको प्रचार गर्न नसक्ने कमजोरीको फाइदा कम्युनिष्टहरुले उठाएका हुन् । संसारमा दुर्लभ हुदै गएको कम्युनिष्ट शासनको भ्रष्टाचार, कुशासन तथा एकपछि अर्को गरी जनविरोधी कामहरुका कारण जनतामा निराशा र आक्रोस पैदा भएको मात्र होइन कि अघिल्लो चुनावमा कम्युनिष्टहरुलाई भोट दिएका जनता अहिले आएर निकै पछुताइरहेको उहाँको भनाई छ ।

नवप्रवेशीहरुलाई सम्बोधन गर्दै नेता जोशीले महत्वपूर्ण समयमा काँग्रेसमा प्रवेश गरेको भन्दै सवैलाई समेटेर अगाडि बढ्ने बताउनु भयो । ‘कांग्रेसले सधैं नयाँ पुस्तालाई हौसला प्रदान गर्छ, कुनैदिन पनि कांग्रेस प्रवेश गरेकामा तपाईंहरुलाई पश्चाताप हुने छैन,।’ नेता जोशीले भन्नुभयो ।

नेपाली कांग्रेस प्रदेश सभा (क)क्षेत्रीय कार्यसमितिका सभापति राजकुमार क्षेत्रीले कार्यालय स्थापना सँगै संगठन निर्माण र सुदृढीकरण लाग्न जोड दिनुभयो । अघिल्लो निर्वाचनमा बहुमत ल्याएको कम्युनिष्ट सरकारले मुलुकमा बिकास र स्थायित्व दिन पनि नसकेको र संविधान कार्यान्वयनको साटो पटक पटक संसद विघटन गरेको स्मरण गर्दै उहाँले बिकास, स्थायित्व र संविधानको कार्यान्वयनको लागि आगामी निर्वाचनमा काँग्रेसले जित्नुपर्ने दावी गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस नेता राम बहादुर प्रसाईं ’जीवन’, नेपाल प्रेस युनियन पर्वतका संस्थापक एवं नेपाल पत्रकार महासघ पर्वतका पुर्व अध्यक्ष ओमप्रसाद घायल, नेपाली कांग्रेस चित्रेका नेता महेन्द्र गुरुङ, महिला नेत्री रेणु खत्री लगायतले बोल्नु भएको थियो । उक्त कार्यक्रममा नेकपा एमाले परित्याग गरि १८ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेस गरेका छन् । नेपाली कांग्रेस मोदि गाउँपालिका–८ चित्रेका सभापति भिमप्रसाद लम्सालको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेस मोदि गाउँपालिकाका उपसभापति तिकलप्रसाद पौडेल र कार्यक्रम संचालन नेपाली कांग्रेस चित्रेका पार्टी सचीव डिल्लीराम पौडेलले गर्नुभएको थियो । उक्त कार्यक्रम मृगौला पीडित प्रेम सुनारलाई नेपाली कांग्रेस पर्वतको तर्फबाट नगद ५ हजार र नेपाली कांग्रेस मोदि गाउँपालिकाकी उपसभापति दुर्गादेवी शर्माले ३ हजार सहयोग गर्नुभएको थियो ।

यसै कार्यक्रमका बीच चित्रेमा नेपाल महिला संघ गठन गरिएको छ । महिलाहरुको भेलाले सुस्मिता परियारको सभापतित्वमा १५ सदस्यीय समिति गठन गरेको नेपाल महिला संघ मोदी गाउँपालिकाकी सभापति बिमला बस्नेतले जानकारी दिनुभयो ।