१८ माघ

नेपाली काँग्रेसले ‘कोमामा’ पुगेका पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थालाई पुनर्जागृत गराउने तयारी थालेको छ । भ्रातृ तथा शुभेच्छुक संस्थामा नवीनता ल्याउन काँग्रेसमा गृहकार्य भइरहेका छ ।

यस विषयमा आइतबार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महान्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच छलफल भएको थियो । महामन्त्री शर्माका अनुसार भ्रातृ तथा शुभेच्छुक संगठनबारे निर्णय लिन केही दिनमै कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

कार्यसम्पादन समितिको बैठकमा जानुपूर्व भ्रातृ तथा शुभेच्छुक संस्था लगायतका विषयमा खाका तयार पार्न लागिएको शर्माको भनाइ छ । उनका अनुसार बैठकमा राष्ट्रिय राजनीति र पार्टीलाई चलायमान बनाउने सन्दर्भमा घनिभूत छलफल हुनेछ । बैठक दुई दिनसम्म चलाउने गरी एजेण्डा तय गरिन लागिएको शर्माले बताए ।

समयमा महाधिवेशन हुन नसकेर वैधानिकता गुमाएका भ्रातृ तथा शुभेच्छुकका सन्दर्भमा दुई विकल्पमाथि छलफल भइरहेको छ । भ्रातृ संस्थाको वर्तमान कार्यसमितिलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्ने कि नयाँ कमिटी ल्याउने भन्ने विकल्प अगाडि सारिएको छ । महामन्त्री शर्माले भने, ‘यो कमिटीलाई निरन्तरता दिने भन्ने एउटा विकल्प छदैछ । महाधिवेशनका लागि नयाँ तदर्थ कमिटी बनाउने विषय पनि छ । यस विषयमा आन्तरिक छलफलमा छौँ । यसलाई चाँडै टुङ्ग्याउने तयारी भइरहेको छ ।