१३ माघ

यो वाक्य नेपाली नेताका भाषण, चिया पसलका गफगाफदेखि सामाजिक सञ्जालका भिडिओहरूमा सुन्न थालेको धेरै वर्ष भइसक्यो। २०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख थियो। त्यसैलाई आधार मानेर जनसंख्या बढेर ३ करोड पुगिसक्यो होला भनेर धेरैले ‘तीन करोड नेपाली जनता’ भनिदिन्थे।

२०७८ मा हुने जनगणनाले नेपालको जनसंख्या तीन करोडभन्दा बढी पुगेको देखाउने धेरैको अनुमान थियो। राष्ट्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक नतिजामा भने नेपालको जनसंख्या तीन करोड पुगेको देखिएन, झन्डै ८ लाख कम पर्‍यो।

विभागका अनुसार नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ।  तीमध्ये पुरूष १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छन् भने महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ।

यो संख्या २०६८ सालको तुलनामा झन्डै २७ लाख बढी हो। अर्थात् नेपालको पछिल्लो दश वर्षमा प्रतिवर्ष जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ। यो बिक्रम सम्वत् १९९८ पछिको सबैभन्दा न्यून वृद्धिदर हो।

नेपालमा १९६८ मा पहिलो पटक जनगणना भएको थियो। त्यसपछिका २० वर्षमा नेपालको जनसंख्या लगातार घट्यो। नेपालमा पहिलो पटक जनगणना भएको दुई वर्षपछि पहिलो विश्वयुद्ध सुरू भएको थियो। त्यतिबेला बिफरको महामारी पनि चलेकाले जनसंख्या घटेको हुन सक्ने विज्ञहरूको भनाइ छ।

विक्रम सम्वत् १९९८ पछिका सबै जनगणनामा नेपालको जनसंख्याको  बढेको छ। वृद्धिदर १ प्रतिशतभन्दा कम भएको भने यसैपालि हो।

जनसंख्या वृद्धिदर कम हुनु भनेको केही दशकपछि काम गर्न सक्ने समूहको संख्या कम हुँदै जानु र वृद्धवृद्धाको संख्या बढ्दै जानु हो। जनशक्ति अभाव हुँदा कुनै पनि मुलुकको विकासमा असर पर्छ। अहिले युरोपका विभिन्न मुलुक र जापानलगायत देशले यस्तै समस्या भोगिरहेका छन्।

जनसंख्याको वृद्धिदर कम हुँदै गएका मुलुकमा संसारकै सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीन पनि हो। अहिले चीनको जनसंख्या १ अर्ब ४० करोडभन्दा बढी छ।  अबको ४५ वर्षपछि चीनको जनसंख्या यति नै नरहन सक्छ। एउटा नयाँ अध्ययनले अहिलेकै दरमा चिनियाँ महिलाहरूले सन्तान जन्माउने हो भने ४५ वर्षपछि चीनको जनसंख्या घटेर अहिलेको भन्दा आधा कम हुने देखाएको छ।

चीनमा सन् १९४९ मा कम्युनिष्ट पार्टीले सत्ता चलाउन सुरू गरेको थियो। त्यसयता सन् १९५९-६१ मा चीनको जनसंख्या घटेको थियो। जनसंख्याको वृद्धिदर निकै बढेपछि सन् १९८० मा चीनले  एक बच्चामात्रै जन्माउन पाउने नीति लागू गरेको थियो।

३५ वर्षपछि सन् २०१५ मा चिनियाँ अधिकारीहरूले एक बच्चाको नीति हटाएर एक दम्पतीले दुई बच्चा जन्माउन पाउने बनाए पनि चीनमा जनसंख्या बढ्न नसकेको हो। यसै वर्ष चीन सरकारले तीन बच्चा जन्माउन दम्पतीलाई प्रोत्साहन गर्ने निर्णय गरेको थियो।

‘अहिले विदेशमा काम गर्न जाने नेपालीहरूलाई स्वदेशमै रोजगारी दिन सकियो भने उनीहरू यहीँ बस्छन्। बालबालिकाको शिक्षा, स्वास्थ्यलगायत विषयमा सरकारले कस्ता नीतिहरू बनाउँछ त्यसले फरक पार्छ,’ उनले भने,‘अहिले त काम गर्ने समूहका मानिसको नेपाललाई कुनै समस्या छैन तर जन्मदर घट्दै जाने हो भने ४०/५० वर्षपछि युवा जनशक्तिको अभाव हुनसक्छ।