२० पुस
पर्वत । सामुदायिक विद्यालयका प्रध्यानाध्यापक तथा लेखा हेर्ने कर्मचारीलाई लक्षित गरी पर्वतको जलजला गाउँपालिकामा आयोजना गरिएको तिन दिने लेखा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । जलजला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा अन्तर्गत मिलनचोकमा भएको तालिममा पालिकाका ५६ जना प्रध्या नाध्यापक तथा लेखा शाखाका शिक्षकहरुलाई आधारभूत लेखा व्यवस्थापन सम्बन्धमा अनुशिक्षण गरिएको जनाईएको छ । मूलतः शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा जोड दिदै आएको गाउँपालिकाले सामुदायिक विद्यालयमा श्रोत तथा अनुदानको व्यवस्था, विद्यालयका लागि नियमावलीबाट निर्देशित खाताहरु, गोश्वारा भौचर, जिन्सी व्यवस्थापन, सार्वजनिक खरिद, फाइलिङ् र बेरुजु सम्बन्धी विषयमा सहभागीहरुलाई प्रशिक्षण गराईएको थियो ।
समापन कार्यक्रममा बोल्दै जलजला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र वहादुर क्षेत्रीले गाउँपालिकाले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको खाका कोरेको बताउनु भयो । उहाँले गाउँपालिकाका विद्यालयहरूलाई प्रविधिमैत्री बनाउन विद्यालयमा ल्यापटप र प्रिन्टर वितरण गरेको, निरन्तर शैक्षिक तालिम आयोजना गरेको, शैक्षिक सामग्री वितरण देखी शिक्षकहरुको सेवा सुविधा लगायत दरबन्दी मिलन जस्ता महत्वपूर्ण काम गरेको बताउनु भयो । क्षेत्रीले गाउँपालिकाले शिक्षा क्षेत्रमा लगानी गरे अनुसार प्रतिफल खोजेको बताउँदै विद्यालयको अवस्था, गुनासो र शैक्षिक विकासका लागि निरन्तर अनुगमन र खवरदार गर्ने जिकिर गर्नुभयो । उहाँले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गदै लेखा व्यवस्थापनमा नयाँ पन ल्याउन शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका क्षेत्रीले जलजला गाउँपालिकाले शिक्षा सँगै स्वास्थ्य, कृषि, खानेपानी, भौतिक पूर्वाधार, सडक निर्माणलगायतका क्षेत्रमा उपलब्धिमुलक काम गरेको बताउनु भयो । क्षेत्रीले जनताको आवश्यकता पुरा गर्न लागि गाउँपालिका परेको बताउँदै सबै कुरामा क्रमिक सुधार हुदै गइरहेकोले जनताले चाहेको जस्तो विकास र परिर्वतनका लागि आफुहरु निरन्तर लागेको बताउनु भयो ।
तालिममा सहभागिहरुले लेखा सम्बन्धी दैनिक कार्यहरुका सामान्य व्यवस्थाहरुलाई व्यवहारिक अभ्यास सहित तालिम उपलब्ध गराएकोमा खुसि व्यक्त गर्दै आगामी दिनमा कार्यदिनलाई बढाई यस्ता तालिम कार्यक्रमले कार्यस्थलमा काम गर्दा उत्प्रेरणा प्रदान गरेको बताएका थिए ।
तालिम पश्चात विद्यालयका शिक्षकहरुलाई बाल कक्षा व्यवस्थापन सम्बन्धि सामग्री वितरण गरिएको थियो । तालिमको सहजिकरण जलजला गाउँपालिकाका सुचना अधिकारी लिलाधर सुवेदी, लेखा अधिकृत तेजुराम सुनार, लेखा कोष तथा नियन्त्रण कार्यालय म्याग्दीका प्रमुख सुमन सुवेदी, नेपाल बैंक लिमिटेड म्याग्दीका प्रमुख मोहन लामिछाने लगायतले गर्नुभएको थियो ।
तालिम समापन कार्यक्रममा जलजला गाउँपालिका–४ का वडा अध्यक्ष भिष्म मल्ल, वडा नम्वर ८ नाग्लिवाङका वडा अध्यक्ष विकास जिसी, जलजला गाउँपालिका राजनितिक सल्लाहकार याम शर्मा,समाजसेवी हरेमवहादुर खत्री लगायतको उपस्थिती रहेको थियो । जलजला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका संयोजक एवक् वडा नम्वर २ का वडा अध्यक्ष गोविन्दवहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन शिक्षा शाखाका प्राविधिक सहायक देवी रिजालले गर्नुभएको थियो ।








