१७ पुस

पर्वत। नेपाली कांग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री तथा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले काँग्रेसभित्र एकता र सहअस्तित्वको आधारलाई संस्थागत गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्वतले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री जोशीले उक्त कुरा वताउनु भएको हो । नेता जोशीले निर्वाचनपूर्व फरक फरक समूहबाट निर्वाचनमा प्रतिष्पर्धा गरेको भएपनि अबको दिनमा सबै काँग्रेसको एउटै दृष्टिकोण हुनुपर्ने वताउनु भएको थियो । ‘प्रतिस्पर्धामा गएपछि एउटाले जित्छ, एउटाले हार्छ तर जितेकाले हारेकोलाई पनि सँगै लिएर हिँड्ने वातावरण तयार गर्नुपर्छ ।’- सहमहामन्त्री जोशीले भन्नुभयो । उहाँले आसन्न निर्वाचनमा गुटका आधारमा नभएर क्षमता र लोकप्रियताको आधारमा टिकट दिनुपर्ने कुरामा समेत जोड दिनुभएको थियो ।

सोही कार्यक्रममा नेपाली काँग्रेसका नवनिर्वाचित पार्टी सभापति युवराज जोशीले पर्वत काँग्रेसमा अब कुनै गुट नरहेको दावी गर्दै सबैलाई एकढिक्का भएर अगाडि बढ्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख तथा नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य सीता काफ्ले लामिछानेले  जित्नेले दम्भ र हार्नेले प्रतिशोध नगरीकन पार्टीलाई अघि बढाउन सुझाव दिनुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि बसन्तबहादुर सिके, नेपाली काँग्रेसका क्षेत्रीय सभापति राजकुमार क्षेत्री, महाधिवेशन प्रतिनिधि मुना शर्मा लामिछाने र नेपाली काँग्रेस खुर्कोटका सभापति तीर्थप्रसाद शर्मा लगायतले बोल्नुभएको थियो ।

पार्टी सभापति युवराज जोशीको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपसभापति डाक्टर चूडामणि शर्माले गर्नुभएको थियो भने कार्यक्रमको संचालन पार्टी सचिव गुप्तनिधि शर्माले गर्नुभएको थियो ।