२ पुस

काठमाडौँ । शेखर कोइरालाले कांग्रेस सुधारको प्रक्रियालाई अगाडि बढाउने थप जिम्मेवारी आफ्नो काँधमा आएको बताएका छन् । सभापतिमा निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबा बधाई दिँदै नेता कोइरालाले महाधिवेशनबाट प्राप्त मतले आफूलाई थप जिम्मेवारी दिएको बताएका हुन् ।

पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वभाविक रुपमा लिदै कांग्रेस रुपान्तरणको एजेन्डामा निरन्तर क्रियाशील हुने उनको भनाइ छ ।

सभापतिमा पराजित भए पनि आफूहरूले प्रतिनिधि र लोकतन्त्रवादीको मन जितेको उल्लेख गर्दै कोइरालाले भनेका छन्, ‘नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा म पार्टी सभापतिमा पराजित भएको छु । केही मतबाट पराजित भए पनि हामीले प्रतिनिधि साथीहरु र लोकतन्त्रवादीहरुको “मन” जित्न सफल भएका छौं । पार्टीभित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि हामीले कांग्रेसप्रति आकर्षण बढाएका छौँ, भरोसा र विश्वासको वृद्धि गराएका छौं ।’ त्यस्तै उनले प्रतिनिधिहरूले देखाएको विश्वास र भरोसाप्रति अविचलित रहने बताएका छन् ।

उनले अगाडि भनेका छन्, ‘मलाई प्राप्त मतले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ । मलाई प्रतिनिधि साथीहरुबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु । प्रतिनिधि साथीहरुले म प्रति देखाएको विश्वास र भरोसाप्रति म अविचलित रहने प्रण गर्दछु ।’

कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो पटक सभापति निर्वाचित भएका हुन्। दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् ।सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीच मंगलबार पुनः निर्वाचन गराएर कांग्रेसको नेतृत्व चयन गरिएको हो ।

दोस्रो चरणमा देउवा २ हजार ७ सय ३३ मत ल्याएर निर्वाचित भएका हुन् । ४ हजार ६ सय २३ मत खसेकामा प्रतिस्पर्धी कोइरालाले १ हजार ८ सय ५५ मत पाए ।