२ मंसीर

नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले पार्टीमा युवा आकर्षणका लागि नयाँ अवधारणा सार्वजनिक गरेका छन्।

मंसिर २४ देखि २६ गतेसम्म हुने कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका उनले महाधिवेशन आउन तीन सातामात्रै बाँकी हुँदा दलमा रूपान्तरणको अवधारणा ल्याएका छन्।

पार्टीमा युवाहरूलाई आकर्षित गर्नलाई उनले किशोर केन्द्रीय सदस्यको प्रस्ताव अगाडि सारेका छन्। कांग्रेसमा अहिले क्रियाशील सदस्य संख्या करिब ९ लाख पुगेको छ।

यी मध्ये ४० प्रतिशत ४० वर्षमुनिका छन्। उनीहरूलाई पार्टीमा भूमिका दिनुपर्ने शर्मा बताउँछन्। शर्माले ४० वर्षमुनिका क्रियाशील सदस्य पार्टीमा ४० प्रतिशत रहेको र सोही मात्रामा प्रदेश र महाधिवेशन प्रतिनिधिमा पनि युवा आउने देखिएकोले किशोर केन्द्रीय सदस्य अवधारणा अघि सारेका छन्।

कांग्रेसमा चलिरहेको वडादेखिका अधिवेशनमा यसपालि युवा आकर्षण बढेको छ। २० वर्षमुनिकै पनि वडा नेतृत्वमा पुगिरहेका छन्।

शर्माले ४० वर्षमुनिकाहरू मात्रै उम्मेदवार बन्न पाउने गरी पार्टीमा किशोर केन्द्रीय सदस्य लागू गर्न सकियो भने आकर्षण बढ्ने आफ्नो अवधारणा पत्रमा उल्लेख गरेका छन्।

बुधबार चितवनबाट सार्वजनिक गरेको शर्माको अवधारणा पत्रमा केन्द्रीय र प्रदेश समितिमा १० प्रतिशत संख्या खुला प्रतिस्पर्धाबाट ४० वर्षमुनिका किशोर सदस्यका लागि छुट्याउन सकिने प्रस्ताव छ।

उनले किशोर केन्द्रीय सदस्य लागू गर्न सकेमा त्यसले युवालाई राजनीतिमा प्रोत्साहित र प्रशिक्षित दुबै गर्ने बताएका छन्।

शर्माले यसअघि गत असोज ३ मा पनि अर्को राजनीतिमा परिवर्तनका लागि भन्दै अवधारणा पत्र ल्याएका थिए।