१६ कार्तिक
रौतहट । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गफाडीको संज्ञा दिएका छन् ।

‘उनी लास्टै गफाडी हुन् । उनका कुराहरु टिपोट गर्दै जानुस् । ओलीले बोलेका केके कुराहरु पूरा गरे ? त्यो पनि टिपोट गर्नुहोला ।,’ गृह जिल्ला रौतहट आएका अध्यक्ष नेपालले मंगलबार चन्द्रनिगाहपुरमा पत्रकार भेटभाट कार्यक्रममा भने, ‘ओलीजी गफाडी नम्बर वान हो । उनले घरघरमा ग्यास बाल्दिसके । पानी जहाज सञ्चालन गरिसके । जहाज चढ्न टिकट काटिसक्नु भयो होला । अब त्यो टिकटको पैसा फिर्ता माग्नुस् ।

चितवनमा एक साताभित्र सरकार ढाल्ने चेतावनी दिएकोप्रति लक्षित गर्दै उनले सो कुरा गरेका हुन् । ‘ओलीजी त चन्द्रमा पुगिसक्नु भयो । अब केही बाँकी छैन्,’ नेपालले भने, ‘सर्वोच्च अदालतमा अहिले देखिएको समस्या प्रधानमन्त्री शेरबहादुर देउवा विदेशबाट आएलगत्तै पाँच दलको बैठक बसेर निकाश दिन्छौं ।

गठबन्धनबीच छलफल हुन नपाएकाले अदालतबारे ठोस निर्णय लिन नसकेको उनको जिकिर छ । अहिले प्रधानमन्त्री पनि बाहिर हुनुहुन्छ । हामी गठबन्धनका साथीहरु बसेर सर्वोच्च अदालतबारे केही सल्लाह गर्नैै पाएका छैनौं,’ उनले भने, ‘अदालतको मामलामा कतिसम्म र के गर्ने भन्ने चाँडै टुग्याउँछौँ । सम्मानजनक निकाश दिन्छौँ ।’ सर्वोच्च अदालतमा देखिएको समस्या पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै उपजका कारण भएको आरोप लगाए ।

भेटघाट कार्यक्रममा अध्यक्ष नेपाल घरीघरी केपी शर्मा ओलीविरुद्ध खनिए । ‘संसदीय चुनावका बेला मेरा पक्षका मानिसलाई टिकट दिँदा ओलीले पूर्वाग्रह राख्ने र पत्तासाफ गर्न लागिपरे,’ उनले भने, ‘मलाई त उनले पिँधमै पुर्‍याउन खोजे अब म धुलो चटाइदिन्छु ।’

अध्यक्ष नेपालले अहिलेको गठबन्धनबीचको सहकार्य आगामी चुनावसम्म कायम रहने सुनाए । चुनावमा तालमेल हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले अहिले नै भन्न नसकिने बताए । ‘चुनाव आउँनै बाँकी छ । त्यही बेला तालमेल गर्ने नगर्ने भन्ने निष्कर्षमा पुगौँला,’ उनले भने,‘चुनावका बेला गठबन्धनबीच बृहत छलफल हुन्छ ।’ प्रदेश सरकारमा आफूहरुको वर्चश्व कायम रहेको उनको भनाइ थियो। ई कान्तिपुरवाट