१६ असोज

नेपाली कांग्रेस काठमाडौंमा आज नगर अधिवेशन हुँदैछ। ११ वटा नगरपालिकामध्ये १० वटामा शनिबार  अधिवेशन हुन लागेको हो।

दक्षिणकाली नगरपालिकामा भने २ नम्बर वडाको अधिवेशन बाँकी रहेकाले आज नगर अधिवेशन नहुने नेपाली कांग्रेसले जनाएको छ।

चन्द्रागिरी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ। त्यहाँ अहिलेकै नगरसभापति घनश्याम गिरीलाई दोहोर्‍याउन संस्थापन र इतर पक्ष तयार भएपछि निर्विरोध नेतृत्व छानिन लागेको हो।

काठमाडौंका बाँकी नौ वटा नगरपालिकामा नेतृत्व चयनका लागि सभापति शेरबहादुर देउवा र कृष्ण सिटौलाको एउटा टिम बनेको छ भने इतर पक्षबाट प्रकाशमान सिंह र गगन थापाको अर्को टिम तयार गरिएको छ ।

सबैभन्दा धेरै चर्चा यसपालि काठमाडौं महानगरको चुनावको हुँदैछ। किनभने यहाँ १५ वर्षपछि चुनाव हुँदैछ भने मुख्य दुई समूहबीच प्रतिस्पर्धाको तयारी छ।

काठमाडौंमा पछिल्लो समय पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापा एकै ठाउँमा उभिएका छन्।

साथै सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष पनि एकै ठाउँमा आइपुगेका छन्। कांग्रेसका यी दुई पक्षबीच काठमाडौंमा प्रतिस्पर्धा हुनेछ।

दुई समूहले प्यानल नै बनाएर शनिबार काठमाडौंको पालिका अधिवेशनमा भाग लिने तयारी गरेका छन्।

सिंह-थापा समूहबाट काठमाडौं महानगर वडा नम्बर २५ का वडाध्यक्ष रहेका पुराना नेता नीलकाजी शाक्य सभापति पदका उम्मेदवार छन्।

कम्युनिष्टहरूको गढमा उनले २०७४ मा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्ष जितेका थिए। काठमाडौंलाई थप व्यवस्थित बनाउन आफूले काम गर्न सक्ने नीलकाजीले बताउँदै आएका छन्।

साथै देउवा-सिटौला पक्षबाट तरूण दल काठमाडौंका संस्थापक अध्यक्ष रहेका प्रगतिमान रञ्जित सभापति पदका अर्का उम्मेदवार हुन्।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत र सिटौलानिकट रहेका भीमसेनदास प्रधानले यसपालि देउवा-सिटौलालाई काठमाडौंमा एकै ठाउँमा उभ्याएका छन्।

प्रधानले सभापति देउवासहित आफूहरूले महानगरको सभापतिमा रञ्जितलाई सहयोग गर्ने निर्णय गरेको  बताए।

‘काठमाडौंका पूर्वसभापति ध्यानगोविन्द रञ्जितलगायत हामी सबै साथीहरू प्रगतिमान रञ्जितलाई सहयोग गर्नेमा छौं।

भूकम्पका बेला पनि उहाँले राम्रोसँग काम गर्नुभएको थियो। तरूण दल काठमाडौंको संस्थापक अध्यक्ष रहेर पनि उहाँले काम गर्नुभएको अनुभव छ। युवा हुनुहुन्छ, नेतृत्व गर्न सक्ने क्षमता छ भने भिजन पनि छ,’ प्रधानले भने।

प्रधानका अनुसार सभापति देउवा र पूर्वमहामन्त्री सिटौलाको पनि महानगरको सभापतिमा प्रगतिमानलाई समर्थन छ।
‘सभापति र पूर्वमहामन्त्री सिटौलाले पनि प्रगतिमानलाई समर्थन गर्नुभएको छ,’ प्रधानले भने।

महानगरमा सभापतिका उम्मेदवार रहेका प्रगतिमानले पनि आफूलाई सभापति देउवासहित पूर्वमहामन्त्री सिटौलाको पनि समर्थन रहेको दाबी गरे।