१२ असोज

काठमाडौं। सत्तारुढ गठबन्धन आबद्ध दलहरूबीच मन्त्रीको सङ्ख्या भागबण्डा भएको छ । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिएसँगै गठबन्धनका बीच मन्त्रीको सङ्ख्या कसले कति लिने सहमति जुटेको हो ।

बालुवाटार निकट उच्च स्रोतका अनुसार कांग्रेसले ७ मन्त्रालय र माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा जसपाले एक राज्यमन्त्रीसहित ६/६ मन्त्रालय लिने सहमति भएको हो ।

गठबन्धन आबद्ध दलबीच बुधवार मन्त्रीपरिषद् विस्तार गर्ने सहमति भएको छ । मङ्गलवार जसपाको जनकपुरमा केन्द्रीय समिति बैठक रहेकाले बुधवार मात्रै सरकार विस्तार हुनेछ ।

२९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवाको मन्त्रीपरिषद्मा हाल एक राज्यमन्त्रीसहित ६ जना मन्त्री छन् । सरकार बनेको डेढ महिना हुँदा पनि प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्न नसकेको भन्दै चौतर्फी आलोचना हुँदै आइरहेको छ ।

मन्त्रालयको भागबण्डामा सहमति जुटेसँगै गठबन्धन आबद्ध दलबाट प्रधानमन्त्रीलाई मन्त्रीको लिस्ट बुझाउने क्रम समेत सुरु भएको छ । नेकपा एसका तर्फबाट मन्त्री बन्नेहरूको लिस्ट सोमबार नै अध्यक्ष माधव नेपालले प्रधानमन्त्री देउवालाई बुझाइसकेका छन् ।

हाल कांग्रेसबाट प्रधानमन्त्रीसहित तीन मन्त्री र एक राज्यमन्त्री गरी पाँच जना सरकारमा छन् । यस्तै माओवादी केन्द्रबाट सरकारमा दुई मन्त्री छन् ।