२४ भदौं

पर्वत । पहिरोका कारण १७ गते देखी अवरुद्ध मध्य पहाडी लोकमार्गको पर्वत खण्डको पहिरो हटाउने कार्य अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीका अनुसार पहिरो हटाउनका लागी वम वलाष्ट गरेर मात्र सहज भएको जानकारी दिनुभयो ।

पहिरोका कारण चुवा,दोविल्ला,भ्याप्लेमा अवरुद्ध भएको सडक आज दिउँसो देखि एकतर्फी रुपमा भए पनि सञ्चालनमा आउने प्रहरी नायव उपरिक्षक बुढाथोकीले जानकारी दिए ।

भ्याप्लेमा सडकमा ठुलो चट्टानले अवरुद्ध गरेका कारण मंगलबार र बुधवार बम विस्फोट गरिए पछि आज विहिवार दिउँसो देखि आउने गरी काम भइरहेको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए ।

बम विस्फोट पछि पनि सडकमा अझै ठूलो ढुंगा रहेका कारण उक्त ढुंगा फुटाउने प्रयास भइरहेको बुढाथोकीको भनाई छ । आज दिउँसो देखि साना गाडिलाई एक तर्फी सञ्चालन गर्न सकिने उनले जानकारी दिए । ठूला सवारी साधनको लागि साँझसम्म प्रयास गरिने प्रहरीको भनाई छ । सडकमा रहेको बाँकी ढुंगा फुटाउने कार्यका लागि पुनः विस्फोट गर्न पर्ने भएमा अर्को विस्फोट गर्ने गरी तयारी भइरहेको बुढाथोकीले जानकारी दिए ।

मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सयौ सवारी साधन वीच बाटोमै अलपत्र परेका छन् ।