१० भदौं
पर्वत । नेपाल तरुण दल पर्वतले कोभिड विरुद्ध सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । बुधबार देखी तरुणदलले जिल्लाका ६१ ओटै वडामा मास्क वितरण अभियान चलाएको छ । तरुण दल केन्द्रिय कार्यसमितिको निर्देशित कार्यक्रम अनुसार जिल्लाका सबै स्थानीय तहमा कोभिड विरुद्धको सचेतना तथा मास्क वितरण अभियान संचालन गरिएको तरुण दल पर्वतका अध्यक्ष राज मल्ल ठकुरीले जानकारी दिए ।
जिल्लामा प्रत्येक वडामा १५ सय मास्क वितरण गर्ने बताए । तरुण दलले बुधबार बिहादी गाउँपालिकाका ६ ओटा वडामा एक कार्यक्रम गरी मास्क वितरण गरेको छ । मास्क वितरण अभियानमा कांग्रेस जिल्ला सदस्य प्रवीण गुरुङ सहित बिहादीका ६ ओटै वडाका सभापतिको उपस्तिथि थियो । कार्यक्रममा बोल्दै जिल्ला सदस्य प्रवीण गुरुङले तरुण दलले कोभिड विरुद्धको सचेतना र मास्क वितरण अभियान संचालन गर्नु प्रसंसनीय रहेको भन्दै धन्यवाद दिए ।
तरुण दल पर्वतले थालेको मास्क वितरण अभियानलाई सफल बनाउन नेपाल तरुण दल केन्द्रिय कोषाध्यक्ष विद्वान गुरुङले आफ्नो गृह जिल्ला पर्वतको ६१ ओटै वडामा पुग्नेगरी १ लाख मास्क व्यवस्था गरिदिएकोमा तरुण दलले कार्यक्रममा आभार व्यक्त गरेको छ । केन्द्रिय कोषाध्याक्ष गुरुङ सहित तरुण दल सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष दोर्जे लामालाइ सहयोग गरेकोमा धन्यवाद दिएको छ ।
नेपाल तरुण दल पर्वतका अध्यक्ष राज मल्ल ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नेपाली कांग्रेस विहादी गाउपालिका अध्यक्ष विष्णु भुसाल र संचालन तरुण दल विहादीका अध्यक्ष नविन गुरुङले गरेका थिए ।
यता पैयुँ गाउँपालिकाका विभिन्न वडामा पनि तरुण दलले मास्क वितरण गरेको जानकारी दिएको छ । तरुणले ६१ ओटै वडामा पुग्नेगरी चरणवद्ध कार्यक्रम गर्ने तालिका अनुसार पहिलो चरणमा प्रदेश ख का विहादी गाउँपालिका, पैयुँ गाउँपालिका, महाशिला गाउँपालिका र फलेवास नगरपालिकामा मास्क वितरण अभियान संचालन गरेको छ ।
दोस्रो चरणमा प्रदेश क का सबै स्थानीय तहमा मास्क वितरण अभियान संचालन गर्ने तरुण दल पर्वतका अध्यक्ष राज मल्लले जानकारी दिए ।








