२ भदौं

राष्ट्रपति विद्या देवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपा नेपालको महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्नका तयारी सुरु गरेको छ । अध्यादेश आएपछि ठाकुर पक्षलाई नयाँ पार्टी गठन गर्न बाटो खुला भएको छ । स्रोतका अनुसार ठाकुर पक्षले दल विभाजन गरी बुधबार नै नयाँ पार्टी दर्ताका लागि निर्वाचनमा आयोगमा निवेदन तयारी गरेको हो । एक नेताले भने, ‘सबै डकुमेन्ट तयारी अवस्थामा छ, नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने तयारीमा छौँ ।’

ठाकुर निकट स्रोतका अनुसार नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) प्रस्ताव गरिएको छ । नेता शरतसिंंह भण्डारीलगायतका कतिपय नेताले पार्टीको नाम राष्ट्रिय जनता पार्टी नेपाल राख्नुपर्ने प्रस्ताव पछि अघि सारेका छन् । तर जसपा लोकतान्त्रिक पार्टी नै राख्ने निश्चित भएको ती नेताको भनाइ छ ।