११ साउन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएसँगै अर्का अध्यक्ष महन्थ ठाकुर ६ दशक लामो राजनीतिक जीवनको उत्तरार्धमा पार्टीविहीन बनेका छन् ।

नेपाली कांग्रेस, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनता पार्टी हुँदै जसपा बनाएका ठाकुरलाई पार्टी आधिकारिकता विवादमा आफू अल्पमतमा पर्दैछु भन्ने थाहा नभएको होइन ।

७ जेठको मध्यरातमा प्रतिनिधिसभा विघटनपछि उपेन्द्र यादव पक्ष छाडेर आफूतिर आएका र आफैंले मन्त्री बनाएका मात्र होइन, पछिल्ला वर्ष आफूसँगै रहेका एकपछि अर्को नेताले छाड्दै गरेको देखेका थिए । आइतबार मात्र पनि केही नेताले ‘पार्टी एकताका लागि उपेन्द्र यादव पक्षमै हस्ताक्षर गरौं, नभए साथ दिन सक्दैनौं’ भनेका थिए ।

तर ठाकुरले ‘म एक्लै भए पनि आफ्नो पक्षमा हस्ताक्षर गर्छु’ भन्ने जवाफ फर्काएको नेताहरु सुनाउँछन् । सोमबार निर्वाचन आयोगले ‘हेड काउन्ट’ गर्दा उनलाई राजेन्द्र महतोसहित १५ जना नेताले साथ दिए ।