२८ असार
पर्वत । पाँच दिनदेखि अवरुद्ध रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत कुश्मा–बागलुङ सडकखण्ड सोमबारदेखि एकतर्फी रूपमा सुचारु भएको छ।
जिल्लाको कुश्मा नगरपालिका–२ खुर्कोटको नयाँ पुलमा गत असार २४ गते सडकमाथिबाट अजमानका ढुङ्गासहित आएको पहिरोका कारण बाटो अवरुद्ध अवस्थामा थियो। पहिरो गएको भोलिपल्ट असार २५ बाटै मध्यपहाडीअन्तर्गत पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्सनले ब्रेकर हानेर ढुङ्गा फुटाउन खोज्दासमेत नफुटेपछि सडक खुलाउन समस्या भएको थियो।
डोजरले बाटो खुलाउन नसकेपछि विस्फोटक पदार्थको प्रयोग गरेर बाटो सुचारु गराउनुपर्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालयमा भएको बैठकबाट नेपाली सेनालाई त्यसको जिम्मा दिने निर्णय भएको थियो। सोहीअनुसार नेपाली सेनाको पर्वतमा रहेको केवलजंग गुल्मले म्याग्दी पुगेर विस्फोटक पदार्थ ल्याएपछि सोमबार पहिरोस्थलमा विस्फोट गराइएको हो।
विशाल आकारका ढुङ्गाहरू विस्फोटक पदार्थले फुटाएर ब्रेकर हान्न सकिने तथा डोजरले पेल्न सकिने बनाएपछि तत्कालको लागि बाटो एकतर्फी रूपमा सञ्चालनमा आएको पहिरो स्थलमा रहेका गुल्मका उपसेनानी प्रवीण धितालले जानकारी दिए।
‘हामीले सोमबार बिहानैबाट ढुङ्गामा प्वाल पार्ने काम थालेका थियौँ। दुई बजेतिर विस्फोटको काम पूरा गरियो। ब्रेकरले फुटाउन सक्ने तथा पेल्न सक्ने बनाएपछि अहिले एकतर्फी रूपमा सडक सुचारु भएको छ’ उनले भने, ‘विस्फोट गराउँदै कतिपय ढुङ्गा त उछिट्टिएर एकै पटक कालीगण्डकीमा पुगेका छन्। सडकमा बाँकी रहेका ढुङ्गा डोजरले पेलेर फालिएको छ।’
दैनिक सयौँको सङ्ख्यामा सवारी गुड्ने पोखरा–बागलुङ अन्तर्गत कुश्मा–बागलुङ सडक अवरुद्ध भएपछि काम चलाऊ वैकल्पिक सडकका रूपमा अर्मादी–बगैँचाचोक–पाङ–सहस्रधारा जोडिने साँघुरो र कच्ची ग्रामीण सडक प्रयोग भएको थियो।
उक्त सडकमा साना सवारीहरू गुडाउन सकिए पनि ठूला सवारीहरू गुड्न नसक्दा मालवाहक सवारीहरू भने बागलुङ, म्याग्दी र पर्वतमा नै थुनिएका थिए। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक कृष्ण बहादुर खड्काले विस्फोटपछि एकतर्फी रूपमा सडक खुलाएपछि मालबहाक सवारीहरू पनि गन्तव्यतर्फ लाग्न थालेका छन्।
लोकमार्गको अर्मादीदेखि सहस्रधाराको खण्ड करिब डेढ किलोमिटर लम्बाइको छ। तर अहिले सवारीहरू गुडिरहेको अर्मादी–बगैँचा चोक–पाङ–सहस्रधारा खण्ड कम्तीमा पनि सात किलोमिटर छ। पहिरो पन्छाउन नसकेपछि सवारीहरू करिब ६ किलोमिटर लामो कच्ची र दुःखदायी सडकबाट चल्न बाध्य भएका थिए। थाहाखवरवाट








