२७ असार
पोखरा ।गण्डकी प्रदेश सरकारका दुई जना विना विभागीय मन्त्रीहरुले कार्यभार सम्हालेका छन् । जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले अस्विकार गरेकै मन्त्रालयको जिम्मेवारी लिन बाध्य भएका छन् ।
आन्तरिक किचलोका कारण सरकार बनेदेखि विना विभागीय रहेका यी दुई मन्त्रीले बल्ल मन्त्रालय लिन तयार भएका हुन् । आचार्यले ऊर्जा तथा मनाङेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी आजैदेखि सम्हालेका छन् । योसँगै सत्ता समिकरणमा देखिएको विवाद केही मत्थर भएको छ ।
यसअघि आचार्यले आफूलाई अर्थ मन्त्रालय दिनुपर्ने दाबी गर्दै आएका थिए । अर्का मन्त्री मनाङेले आफूले भौतिक पूर्वाधार पाउनु पर्ने अडान कसेका थिए । यो सँगै गण्डकीमा ४ जना मन्त्रीको जिम्मेवारीको टुंगो लागेको छ । यसअघि कुमार खड्काले सामाजिक विकास तथा मधुमाया अधिकारीले स्वास्थ्यको जिम्मा पाइसकेका छन् ।
बजेटमाथिको छलफलपछि सरकार विस्तार गर्ने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताएका छन् । सरकार बनेको १ महिना पुग्नै लाग्दा समेत मन्त्री मण्डलले पूर्णता नपाउँदा सरकारको कार्य क्षमतामाथि प्रश्न उठ्न थालेको छ । बजेटमाथिको छलफल आइतबारदेखि हुँदै छ ।








