सतिश रेग्मी
असार २०, २०७८
पर्वत : पर्वतको मोदी गाउँपालिकाले पालिकाभित्र रहेका नदी तथा खोलाहरुमा उत्खननका लागि लगिएका मसिनहरुहरु हटाउनको लागि निर्देशन दिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीद्धारा आईतबार जारी गरिएको मसिनरी सामान हटाउने सम्बन्धि सूचनामा वर्षातको समयमा नदीजन्य पदार्थको उत्खनन्मा रोक लगाइएका कारण उत्खनन्का लागि नदी वा खोलामा लगिएका मसिनरी औजारहरु त्यहाँबाट हटाउन भनिएको छ । वर्षातको समयमा नदीजन्य पदार्थको उत्खनन् र संकलनमा रोक लगाइएको अवस्थामा मोदी गाउँपालिका क्षेत्रभित्रका मोदी खोला, पाती खोला लगायतका खोलाबाट ढुंगा, गिट्टी, बालुवा लगातका नदीजन्य पदार्थहरु उत्खनन् तथा चोरी निकासी हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर निर्देशन दिइएको छ ।
नदी तथा खोला किनार छेउमा स्काभेटर, ट्रिपर, ट्रयाक्टर लगायतका मसिनरी औजारहरु राखिएको भए तत्कालै ती औजारहरु हटाई सहयोग गरिदिनुहुनका लागि सबैलाई अनुरोध गरिएको प्रशासकीय अधिकृत क्षेत्रीले बताए । यदि निर्देशनको पालना नगरी उल्लंघन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने पनि उनको भनाई छ ।








