१३ असार
सर्लाही । एक्स्काभेटरको बकेटले हिर्काएर सर्लाहीको ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या गरिएको छ । हत्यामा संलग्न अपरेटरसहित दुई जना पक्राउ परेका छन् ।
भक्तिपुरको वाणटोलस्थित मुखलाल बाँध पोखरी खन्ने क्रममा वडाध्यक्ष श्रेष्ठको एक्स्काभेटर अपरेटरसंँग विवाद भएको थियो । उनको हत्या पूर्वयोजना नभई आवेगमा आएर गरिएको देखिएको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए । केही दिनदेखि भक्तिपुरमा सरकारी पोखरीको स्तरोन्नति भइरहेको थियो ।
दिनभर काम गरेर राति अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, पोखरी खनाउने ठेकेदार प्रेमराज दाहाल, पोखरी ठेक्कामा लिएका इन्दल सहनी र अपरेटर रविन तामाङ नजिकको होटलमा सँगै खाजा खान बसेका थिए ।
राति करिब ११ बजे सहनी होटलबाटै छुट्टिएका थिए । प्रहरीका अनुसार वडाध्यक्षसँगै तामाङ र ठेकेदार दाहाल पोखरीकै बाटो भएर घर फर्किन लागेका थिए । घर फिर्ने क्रममा वडाध्यक्ष श्रेष्ठको विवाद भएको र सोही क्रममा पोखरी खन्ने स्थानमा पुगेपछि अपरेटर तामाङले एक्स्काभेटर चलाएर बकेटले हिर्काएको प्रहरीले जनाएको छ ।
श्रेष्ठलाई माटोले पुर्न थालेपछि दाहालले हल्ला गरी स्थानीयलाई बोलाएपछि तामाङ फरार भएका थिए । एसपी राठौरले माटोले पुरेर अचेत अवस्थामा वडाध्यक्ष श्रेष्ठलाई फेला पारिएको बताए । उनलाई उपचारका लागि अस्पतालमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
‘मदिरासहित खाजासँगै खाएर घर फिर्ने क्रममा बाटोमा हिलो भएपछि वडाध्यक्ष श्रेष्ठले तामाङलाई चप्पल समात्न भनेछन्, म चप्पल समात्ने मान्छे हो ? भन्दै त्यहाँबाट विवाद सुरु भएको देखिन्छ । उनले एक्स्काभेटर चलाएर बकेटले श्रेष्ठलाई लडाएर माटोले पुरेको अवस्थामा हामीले फेला पारेका हौं,’ राठौरले भने, ‘यो घटना पूर्वनियोजित होइन । आवेगमा आएर गरिएको जस्तो देखिन्छ ।’
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पोखरी खन्ने ठेकेदार ईश्वरपुर–३ का ३५ वर्षीय प्रेमराज दाहाल, एक्स्काभेटर अपरेटर हरिपुर–१ का ४० वर्षीय रविन तामाङलाई नियन्त्रणमा लिएको छ । दाहाललाई घटनालगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका तामाङलाई शनिबार बिहान पौने ६ बजे लालबन्दीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनालगत्तै एसपी राठौरसहितको टोलीले फरारको खोजी गरेका थिए । प्रहरी टिमले रातभरि त्यस क्षेत्रका प्रहरी युनिटलाई परिचालन गरेपछि मात्र तामाङलाई समात्न सकेको थियो । कान्तिपुरवाट








