सतिश रेग्मी
असार ४, २०७८
पर्वत : सामाजिक सेवामा सक्रिय रहँदै आएको नेपाली सहयोगी हातले कोरोना कहरको बीचमा गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै विभिन्न ठाउँमा सहयोग गरेको छ।
पछिल्लो पटक सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मालाइए १२ थान एन नाइन्टी फाइभ मास्क, दुई सय थान सर्जिकल मास्क, चार ओटा पकेट सेनीटाइजर र एक थान बाह्य सेनीटाइजर सहयोग गरिएको सहयोगी हातका सदस्य बिनय पुरीले बताए। कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटीएर काम गर्ने प्रहरीलाई सुरक्षाको आवश्यकता बढी हुने भएका कारण ती ठाउँमा कार्यरत प्रहरीको लागि स्वास्थ्य सामग्री दिइको उनको भनाई छ।
यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पनि स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको छ। त्यहाँ ४० थान एक नाइन्टी फाइभ मास्क, पाँच सय थान सर्जिकल मास्क र दुई बोतल सेनीटाइजर हस्तान्त्रण गरिएको हो। ती स्वास्थ्य सामग्रीहरु पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडी मार्फत हस्तान्त्रण गरिएको थियो।
यस्तै सदस्य आशिष शर्माले कोरोना महामारीको बीचमा जिल्लाका बिभिन्न स्थानमा स्वास्थ्य सामग्रीहरु हस्तान्त्रण गर्नुका साथै दीर्घकालिन रुपमा स्वास्थ्य समस्या भोगिरहेकाहरुलाई पनि सहयोग गरिएको बताए। कोरोना महामारीको समयमा अघिपछिको समयमा भन्दा स्वास्थ्य सामग्रीहरु बढी आवश्यक पर्ने भएका कारण यो बेलामा सहयोगदाताहरुको आवश्यकता बढी हुने उनको भनाई छ।
सामग्री हस्तान्त्रण गरेपछि सहयोगी हातका अध्यक्ष निखिलेष पुरीले आफूहरुले सकेसम्मको सहयोग बिभिन्न ठाउँमा गर्दै आइरहेको अब पनि सहयोगदाताहरु खोजेर समस्यामा परेकाहरुलाई सहयोग गर्दै जाने प्रतिबद्धता ब्यक्त गरे। लकडाउन सुरु हुनुपूर्व बिभिन्न ठाउँमा पुगेर दीर्घरोगीहरुलाई सहयोगी स्वास्थ्य सामग्रीहरु हस्तान्त्रण गरिएको सम्झीँदै उनले आगामी दिनमा पनि सहयोगी हातको अभियान यही नै कायम रहने बताए।
स्वास्थ्य सामग्री हस्तान्त्रण कार्यक्रममा सहभागी पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले यूवाहरुको सक्रियतामा भइरहेको सहयोगको अभियानले यूवाहरुलाई समाज सेवामा उत्प्रेरित गरेको बताउँदै आगामी दिनमा पनि नेपाली सहयोगी हातको सहयोगको अपेक्षा आफूले गरिरहेको बताए। यूवाहरु नै देश परिवर्तको मेरुदण्ड भएका कारण सामाजिक सेवामा सक्रिय रहने यूवाहरुकै कारण सकारात्मक सोचको विकास गर्न सहयोग मिल्ने उनको भनार्इ छ।








