सतिश रेग्मी
असार २, २०७८
पर्वत : २३ जुनलाई ओलम्पिकको विशेष दिनका रूपमा लिइने गरिएको छ । सन् १८ सय ९४ को जुन २३ बाट पेरिसको सोनबोनमा अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)को स्थापना भएको थियो ।
यही दिन अन्तर्राष्ट्रिय ओलम्पिक दिवस २०२१ को अवसरमा गण्डकी प्रदेशभित्र रहेका माध्यमिक विद्यालहरुको बिचमा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकी र जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना तथा नेपाल ओलम्पिक कमिटीको तत्त्वावधान तथा स्पोर्टस फर अल कमिसन र भूतपूर्व खेलाडी मञ्च नेपालको सहयोगमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
प्रतियोगितामा कक्षा आठदेखि १२ सम्म अध्ययन गर्दै गरेका एकै विद्यालयका कम्तीमा एक जना छात्रा सहित तीन जनासम्मले भाग लिन पाउने छन् । प्रतियोगीहरूले प्रदेश खेलकुदले तय गरेको ‘भिजन’ ‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद’ भन्ने शीर्षकमा धारणा राख्नुपर्ने छ । जुम मार्फत सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीले यही असार आठ गते साँझ पाँच बजेसम्म सहभागिताका लागि पत्र पठाइसकेको हुनुपर्ने भनिएको छ । सहभागी हुनका लागि विद्यालयको सिफारिस सहित [email protected] मा मेल गर्ने सक्नेछन् ।
प्रतियोगिताको पहिलो चरण असार १० गते दिउसो एक बजेबाट सुरु हुने तथा त्यस चरणमा छनौट भएका १० जना सहभागीहरूको दोस्रो चरणको प्रतियोगिता असार १२ गते बिहान ११ बजे सुरु हुने आयोजकले बताएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय, चौथो र पाचौँ स्थानमा आउने प्रतिस्पर्धीहरुले क्रमशः नगद रु. १५ हजार, १० हजार, ७ हजार, ५ हजार र २ हजार सहित प्रमाणपत्र पाउनेछन्।