११ जेठ
गण्डकी प्रदेश सभाको वर्षे अधिवेशन जेठ १६ गते बोलाइएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले १६ गते दिउँसो १ बजे सभागृहमा अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए ।
कोरोनाको अवस्था सामान्य बन्दै गएपछि नदिपुरस्थित प्रदेशसभा भवनमै बैठक बस्न थालिएकोमा फेरि पोखरा सभागृहमै अधिवेशन बस्ने भएको छ । गत वर्ष पनि पाेखरा सभागृहमै बजेट अधिवेशन भएकाे थियाे ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २९ भित्र विश्वासको मत लिनुपर्ने र बजेट असार १ सम्म ल्याउनुपर्ने भएकाले प्रदेश सभा बैठक डाकिएको हो । मुख्यमन्त्री गुरुङ वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । असार १ गते बजेट ल्याउनुपर्ने प्रावधान छ भने त्यस अगावै नीति तथा कार्यक्रम पारित गर्नु पर्ने हुन्छ ।
यो अधिवेशनमा मुख्यमन्त्रीले विश्वासको मत लिन सकेनन् भने अर्को सरकार गठन पनि सहज छैन । यसले
गण्डकी पनि मध्यावधिकै बाटोमा जाने देखिएको छ । बजेट अगावै सरकार फेरबदल भएमा वा मुख्यमन्त्रीले बजेट ल्याउन नसकेमा काम चलाउन सरकारले अध्यायदेशमार्फत पनि बजेट ल्याउनुपर्ने अवस्था आउन सक्छ ।








