३ जेठ
पर्वत । पर्वतको कुश्मा नगरपालिकाले कोरोना संक्रमितको उपचार, कोरोना नियन्त्रण तथा व्यवस्थापनका लागि सहयोगको अपिल गरेको छ । नगरपालिकाले आईतवार एक विज्ञप्ती प्रकाशित गरि कोरोना संक्रमण बढ्दै गएको र संक्रमित दिनदिनै बढ्दै जाँदा विभिन्न स्वास्थ्य सामाग्री, पिपिई मास्क, अक्सिजन लगायतका सामाग्रीको अभाव देखिएकाले त्यसको व्यवस्थापनका लागि आर्थिक सहयोग गर्न अपील गरेको हो ।
नगरपालिकाले प्रकोप व्यवस्थापन कोष बनाएर सहयोग गर्न देशबिदेशमा रहेका सहयोगी महानुभाव तथा संघसंस्थालाई अनुरोध गरेको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । उक्त कोषमा सहयोग रकम संकलन गरी राहत नगरबासीको उपचार र पर्वत अस्पतालमा आउने जिल्लाभरीका विरामीहरुको उपचारमा रकम खर्च गर्ने गरी कोषको स्थापना गरिएको नगरप्रमुख जोशीको भनाई छ । गतवर्ष पनि नगरपालिकाले कोरोना कोष बनाएर सहयोग जुटाएको थियो । गतवर्ष विभिन्न निकायले सहयोग गरेका थिए । उक्त सहयोगले स्वास्थ्य सामाग्री व्यवस्थापन, कोभिड अस्पताल सञ्चालन, बिदेशबाट फर्किएकाहरुको परिक्षण र उपचार, औषधी तथा राहात वितरण गरिएको थियो ।
दोस्रो चरणको नयाँ भेरियण्ट सहितको कोरोनाले समस्या पार्दै गएपछि नगरपालिकाले आर्थिक सहयोगको अपेक्षा गरेको विज्ञप्तीमा जनाईएको छ । नगरको अनुरोध अनुरुप आज हार्नेस जीपलाईनका सञ्चालन तथा यूवासंघका नेता सुनिल थापा बानियाँले २५ हजार रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गर्नुभएको छ । कुश्मा नगरपालिका वडा नं ४ निवासी हाल अमेरिका रहेका पुनम वसेलले २५ हजार जम्मा गरिसक्नु भएको छ। हिजो मात्रै नगरपालिकाले सहयोगका लागी आहन गरेको थियो । सहयोग गर्ने क्रम जारीरहेको छ । नगरपालिकाले नेपाल वैंक पर्वतको खाता नम्बर ०६६०३०००००७००२०००००२ मा प्रकोप ब्यवस्थापन कोषको खातामा सहयोग रकम उपलब्ध गराउन आब्हान गरेको छ ।








