२३ वैशाख
पर्वत । बैँक वित्तिय संस्था तथा सहकारीका कारण पर्वतको कुश्मामा भिड भएको जनगुनासो पछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाका लागि मापदण्ड तोकेको छ । नयाँ भेरियण्ट सहितको कोरोना संक्रमण समूदायमा फैलिएर सदरमुकाम कुश्मामा निषेधाज्ञा जारी भएको छ । तर आर्थिक कारोवारका लागि सदरमुकाम आउनेहरुको संख्या भने नघटेपछि कारोवारका लागि समय तोकिएको छ ।
वित्तिय संस्था र सहकारीलाई घरदैलोमा पुगेर बचत संकलन गर्न रोक लगाउने निर्णय भएको छ । यस्तै न्यूनतम कर्मचारी राखेर सेवा सञ्चालन गर्न र सोमवार र विहीवार विहान १० बजेदेखि २ बजेसम्म मात्रै कारोवार गर्न प्रशासनले सूचित गरेको छ । बैँकहरुलाई पनि आलोपालो गरि विहान १० बजेदेखि २ वजेसम्म मात्रै कारोवार गर्न भनिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठक बसी यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।
प्रशासनको निर्णय अनुसार एनआईसी एसिया बैँक, सेञ्चुरी कमर्शियल बैँक, कामना सेवा विकास बैँक, मेगा बैँक, प्रभु वैंक र मुक्तिनाथ विकास बैंक आईतवार र बुधबार मात्रै खुल्ला हुने भएको छ । प्राईम कमर्शियल वैँक, माछापुच्छ्रे वैंक, राष्ट्रिय वाणिज्य वैंक, गरिमा विकास बैंक, एभरेष्ट वैंक र सनराईज बैंक सोमवार र बिहिवार खुल्ला हुने भएका छन् । कुमारी वैंक, कृषि विकास वैंक, ग्लोवल आईएमई बैंक, नेपाल वंगलादेश बैंक र सांग्रिला विकास बैंकको सेवा मंगलवार र शुक्रवार मात्रै खुल्ला हुने भएका छन् । नेपाल बैंक लिमिटेड भने आईतवार, मंगलवार र शुक्रवार खुल्ला हुने सूचनामा उल्लेख गरिएको छ ।
नेपाल बैंक लिमिटेडमा राजस्व संकलनका लागि दैनिक कार्यघण्टा तोकेर काम गर्न र ग्लोवल बैंकलाई मालपोत कार्यालय संग समन्वय गरि राजस्व काउण्टर सञ्चालन गर्न प्रशासनले अनुरोध गरेको छ । पर्वतमा कोरोना संक्रमण बढ्दै गएपनि बैँक तथा वित्तिय संस्थाहरुमा भिड बढेको थियो ।








