२१ वैशाख
काठमाडौं । गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले पदमुक्त भएकोमा खुशी व्यक्त गरेका छन् ।
मंगलबार पत्रकार सम्मेलनमार्फत एक प्रेस वक्तब्य सार्वजनिक गर्दै उनले प्रधानमन्त्री र राष्ट्रपतिप्रति खुशी ब्यक्त गर्दै अधिकारवीहिन खुला जेलबाट मुक्त गरीदिनुभएकोमा धन्यवाद दिएका छन् ।
उनले वक्तब्यमा भनेका छन्–‘पदमुक्त भएकोमा अत्यन्तै खुशी छु । मुरी मुरी धन्यबाद छ राष्ट्रपतीज्यूलाई पहिला ओलीजी र पुनः प्रचण्डजी मार्फत ओलीजी को प्रस्ताव मैंंले अस्विकार गरेको पद थियो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भै स्वकारेको पद हो यो । अधिकारवीहिन खुला जेलबाट मुक्त गरीदिनुभएकोमा पनि धन्यवाद ।
वक्तब्यमा उनले आफूलाई पार्टी अध्यक्ष र राष्ट्रपति बन्न प्रस्ताव आएपनि अस्विकार गरेको जनाउदै पदका लागि कुनै प्रकारको वार्गेनिङ नगर्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्,‘म पदको लागि राजनीति गरेको व्यक्ती होइन । पूर्वराष्ट्रपती डा.रामवरण यादवको कार्यकाल समाप्तीपछि राष्ट्रपतीको लागी मलाई प्रस्ताव आयो । मैंले अस्विकार गरे । त्यस्तै ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनी ठाडै इन्कार गरेको व्यक्ती हुँ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल ,क.यज्ञदेव आले ,क.निर्मल आले र क.मोहन विक्रम सिहं जस्ता शिर्षस्त नेताहरुको निकटमा रहेर सक्रीय राजनीतिक संर्घषमा आफ्नो जिवन समर्पीत गरें । पदका लागि कुनै प्रकारको वार्गेनिङ गरिन ।’
शेरचनले देश कोभिडबाट आतंकित र अक्रान्त बनेको, दैनिक मृत्युदर बढीरहेको अवस्थामा सम्पूर्ण राजनीतिक दलहरुको साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जिउधनको रक्षा गर्नुपर्ने अहम बेलामा फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुबाएकोमा चिन्ता ब्यक्त गरेका छन् ।








